१२ बैशाख २०८१, बुधबार

ताप्लेजुङबाट पूर्ववडाध्यक्षको गृहमन्त्री रवि लामिछानेलाई पत्र


गृहमन्त्री रवि लामिछानेलाई पत्र

ताप्लेजुङ । प्रिय गृहमन्त्रीज्यू,
हार्दिक अभिवादन !

वीर सहिदहरुको बलिदानी तथा महामानव विपी कोइराला, हिमालय शम्शेर, लौहपुरुष गणेशमान आदिको लामो राजनीतिक यात्रा र त्यागको प्रतिफल अनि जनताको परिवर्तनको अपेक्षाको नतिजा स्वरुप नेपालमा प्रजातन्त्र आएको ३२ बर्ष बितिसक्यो । यस ३२ बर्षको दौरानमा धेरै पटक व्यवस्थापकीय स्वरुपका परिवर्तनको खातिर थप क्रान्तिहरु भये र धेरै पटक निर्वाचनहरु समेत भइसकेका छन् ।

अझै केही राजनीतिक दल भुमिगत अवस्थामै छन भने केही आफ्नो फाइदा र स्वार्थअनुसार नेपालको संविधानलाई दोष दिइरहेका छन् । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान २०७२ जारी गर्नु भएसगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ ।

सोलगत्तै भएको पहिलो स्थानीय निकायको निर्वाचनमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका वार्ड नं. ९ हाङ्देवाको अध्यक्षमा म स्वयं निर्वाचित भई एक कार्यकाल स्थानीय निकायको वार्ड अध्यक्षको अनुभव र मेरो तहको जनताको सेवा गरेको अनुभव रहेको छ ।

नेपालमा एकाधिकार जमाएर बसेका राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्रले जनअपेक्षित काम गर्न नसकिरहेको अवस्थामा गएको स्थानीय चुनावमा काठमाडौ महानगरले स्वतन्त्र व्यक्तिहरु बालेन्द्र साह र धरान उपमहानगरले हर्क साम्पाङ जस्ता मेयर यानेकी नगरप्रमुख पाएको छ ।

जनताले मुलुकको विकास गर्न सक्ने, सुशासन दिन सक्ने, नेपालीलाई नेपालमै रोजगारी दिलाउन सक्ने, छिमेकी राष्ट्र प्रमुखहरुलाई उहाँहरुको आफ्नो आफ्नो धर्म अनुसारको हिन्दु मन्दिर र बौद्ध गुम्बाहरुमा तिर्थाटन गर्न र नेपालमा व्यापार बृद्धिको लागि याचना गराउन सक्ने नेताको खोजीमा छौ ।

२०७९ मंसिर ४ गतको आम निर्वाचनले जनताको आकांंक्षा प्रष्ट रुपमा परिवर्तनको कित्तामा उभ्याएको छ । तपाईंको राष्ट्रिय स्वतन्त्र पार्टीले अपेक्षित जीत हासिल गरेको छ । संसदमा तपाइँको उपस्थिति जनताले तपाईं न्यूज ट्वान्टी फोरमै रहँदादेखि खोजिरहेका थिए, त्यसमाथि तपाईले गरेका हरेक सामाजिक सेवाहरु गृह प्रशासनसँग सम्वन्धित रहेका र आज त्यही मन्त्रालयको मन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारीमा पुग्नु हुँदा आम नेपालीहरुले सभ्य वा बिद्रोही भाषाबाट पनि तपाईले मुलुकको बेथितिहरुको निर्मूल पार्ने अपेक्षा राख्नु मनासिब छ ।

माननीय मन्त्री रबि लामिछानेलाई मेरो छोटो बुँदागत सुझाव राखेको छु, यो यसै सामाजिक संजालमार्फत मनन गर्नु हुनेछ भन्ने आशा लिएको छु, तथापी यसको कपि तपाईको दलको कार्यालय र गृह मन्त्रालयसम्म पुर्याउने ब्यबस्था समेत मिलाउने छु ।

मनका बुँदाहरु : निवेदन/अनुरोधका स्वरुपहरु

१. मानवीय स्वभाव हो या कुर्सीको उन्माद, धेरै नेताहरु, मनको आवेग ओकलिहाल्छन, तर म चाहन्छु तपाईं हदैसम्म सम्हालिनु होला । सुशासन र विकासको लागि हरेक नेपाली भोका छन, गरिव, धनी, पहुचवाला र आवाजबिहिनहरुले पाउने अधिकार र न्यायमा समानताको अपेक्षा तपाईंसंग राखेको छु ।

२. गृहमन्त्री आफैमा शक्तिशाली कार्यकारी र गृह मन्त्रालय मुलुकको शक्तिशाली मन्त्रालय भएकाेले गृह प्रशासनका हरेक तहतप्काले निर्वाध काम गर्न पाउने वातावरण सुनिश्चित गरिदिनु होला । कुनै पनि दोषीहरु राजनीतिक आवरणमा कानुनको भागेदार वा सजाय भोग्न बन्चित भएको समाचार सुन्न र देख्न नपरोस् ।

३. भिआपीकाे बारेमा विस्तृत अध्ययन गरी अत्यावश्यक परेकाहरुलाई मात्र सुरक्षा व्यवस्था मिलाइयोस् । सुरक्षागार्डलाई घरेलु कामदारको रुपमा प्रयोग भएको सर्वत्र सुनिएकोले यस्ता प्रवृत्तिलाई निरुत्साहित पार्ने कानुनको अंगिकार हुनेमा विस्वस्त छु ।

४. “सानालाई ऐन ठुलालाई चैन” याे शब्दलाई अब परिमार्जन गरी देशकाे कानुन बराबरी हाे भन्ने सन्देश दिनु हाेला ।

५. प्रहरीभित्र सरुवा बढुवामा हुने गरेकाे अनियमितता बाहिर आएकाे चर्चा अब बन्द भई सिनियरिटि र अव्वलताकाे आधारमा स्वचालित प्रणालीअनुसार सरुवा बढुवा हुने प्रथाको विकास गर्नु हाेला ।

६. प्रहरी प्रशासनभित्र राजनीतिक चलखेल बन्द भई राजनीतिक चलखेलका कारण पिडितले न्याय नपाउने वातावरणको अन्त्य गरिनुपर्यो । राम्रो काम गर्नेलाई पुरस्कृत गरिनुको साटो सरुवा र प्रपन्च रचेर निलम्बनसम्मको धृष्टता राखिने प्रथाको अन्त होस ।

७. प्रहरी प्रशासन कार्यलयले पिडकलाई मोलमोलाइको आधारमा चोख्याउने प्रचलन रहिआएको र असहाय निमुखा परे पिडितलाई समेत न्याय किन्ने अवस्थाका चलनको अनिवार्य अन्त हुनेमा विश्वस्त छु ।

८. ट्राफिक प्रहरीमा समेत धेरै सुधारकाे आवश्यकता छ । चेकिङको नाममा हुने ठुलाे भ्रस्टाचारको अन्त साथै प्रदुषणको मारमा बिना स्वास्थ्य सुरक्षा र नजिकै शौंचालयसम्म नभई काम गरिरहेका प्रहरी जवानको चेक पोस्टहरुको डिउटी देख्दा टिठ लाग्ने अवस्था छ । प्रहरी प्रशासनमा बुझाइएको हरेक शुल्क अनि जरिवानाको आधुनिक बैंकिङ प्रणालीबाट राजस्व खातामा सिधै जम्मा हुने वातावरण निर्माण गरी भ्रष्टाचार राेक्नु हाेला । राहदानी बनाउँदा अनि नवीकरण गरिदा होस् या प्रहरीले दिने प्रमाणका कागजातमा होस् थुप्रै आर्थिक चलखेल र दु:ख दिने नियत समाजमा सुनिने गरेका छन, यसको अनिवार्य अन्त्यको खोजीमा छौ ।

नेपालमा हरेक व्यक्ति लोभ र लालचले जकडेर असक्षम बनिरहेका छन्, आशा राखेको छु तपाईमा त्यो असाध्य कम छ । हुनत द्रव्य देखेपछि महादेवको तेस्रो नेत्र खुलेको थियो रे ? अनि हामी उहाँलाई नै आराध्य मानेर पुजा गरिरहेका छौ ।

अन्त्यमा हिजो पञ्चायतकालमा खैरो वर्दीका सिपाही आउँदा सबैको मुटु हल्लिने वातावरण थियो तर आज हाम्रो समाजलाई एक असल मित्र आएको भान हुने वातावरण र पापीको लागि त्यही वर्दी कालको स्वरुपमा देखाउन सफल हुनु होला । तपाईलाई बधाई अनि कार्यकाल सुखद मात्र नभई मुलुकलाई विकासको मार्गतर्फ लैजान शताब्दीकै एक दर्विलो खुड्किलो बनोस् भनी माता भगवती पाथीभरासँग प्रार्थना गर्दछु ।

*लेखक तारा बराल फुङलिङ न.पा. वडा नम्वर ९ हाङ्देवा ताप्लेजुङका पूर्ववडाध्यक्ष हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !