देश, जनता, विकास, समृद्धि र नेतृत्व Nepalpatra देश, जनता, विकास, समृद्धि र नेतृत्व
३ आश्विन २०७८, आइतबार

देश, जनता, विकास, समृद्धि र नेतृत्व


केशव प्रसाद भट्टराई

१. सिङ्गापुर जहाजमा काम गर्ने गरीव श्रमिकहरूको बस्ती,

न उद्योग धन्दा, न कलकारखाना, न कृषि न खनिज ,

तर यौटै पुस्ताले त्यो गरीव बस्तीलाई संसारको सवैभन्दा समृद्ध मुलुक बनेको देख्यो ।

किन कि त्यहाँ नेता थिए, जनतालाई नेतृत्व दिए ।

 

२. उत्तर कोरिया र दक्षिण कोरिया विभाजित हुँदा सवै उद्योग, खनिज समृद्ध र कृषियोग्य जमिन उत्तरतर्फ परे, दक्षिण कोरिया रित्तो ।

संसारको गरीव मध्येको राष्ट्र, त्यतिखेर नेपालको जस्तै आय स्थिति ।

आज विश्वको समृद्ध मुलुक ।

कारण दक्षिण कोरियामा  नेता थिए, जनतालाई नेतृत्व दिए ।

 

३. अलि पर जाउँ अफ्रिका-बोत्स्वाना !

१९६६ मा जब स्वतन्त्र भयो त्यतिखेर १०-१२ जना स्नातक पढेका !

१० कक्षा उतीर्ण करीब सय जना,

त्यस्तै १०-१२ किलोमिटर पक्की सडक ।

साधन र स्रोत विहीन, भू-परिवेष्टित मुलुक !

यौटै पुस्ताले गरीव र तन्नम  बोत्स्वानालाई समृद्ध र सुखी मुलुक बनेको देख्यो ।

नेता भएपछि र  जनतालाई नेतृत्व दिएपछि मुलुक त्यस्तो हुँदो रहेछ ।

 

एउटा उदाहरण – स्वतन्त्र बोत्स्वानाका प्रथम राष्ट्रपति र त्यहाँको समृद्धिको युगको नेतृत्व गरेका सेरेत्से खमाको निवाश जाने बाटो कच्ची र खाल्टा खुल्टीमय  थिए ।

सम्बन्धित मन्त्रीले राष्ट्रपति निवाशकोबाटो  पिच गर्ने प्रस्ताव राखे ।

राष्ट्रपतिले सोधे- ‘मेरो निवाशको बाटो राष्ट्रिय प्राथमिकतामा पर्दछ ?

कति जना नागरिकको जीवन स्तरमा त्यसले सुधार ल्याउँछ ?

जुन काम गर्दा आम जनताको जीवन-स्तर माथि उठ्छ त्यो मात्रै  राष्ट्रको प्राथमिकता बन्नु पर्दछ !’

 

४. अफ्रिकाको रवान्ड़ा– जातीय द्वन्द्वले थिलथिलो भएको मुलुक ।

सन् १९९४ मा १०० दिनको अवधिमा करीव नौ लाख जनताको आमहत्या, त्यो कूल जनसँख्याको झन्डै १० प्रतिशत !

अपाङ्ग, घाइते र निर्वाशितको कुरै नगरौँ !

घर-भवन, सडक-पुल  उद्योग, खेतीपाती ध्वस्त !

त्यो रवान्डामा आज पुग्ने मानिसहरूले युरोपको कुनै विकसित मुलुकमा  पुगेको अनुभव गर्दछन्  !

राष्ट्रपति पाउल काग्मेले आफ्नै राष्ट्रपतित्व कालमा हिंसाले जर्जर भएको त्यो मुलुकलाई शान्ति, स्थिरता र समृद्धि सवै दिए ।

 

५. शेख जायद बिन सुल्तान अल नहायन युनाइटेड अरब इमिरेट्सका राष्ट्रपति थिए ।

१९६६ मा पदमा आए ।

२००४ मा उनको निधन भयो ।

त्यहाँका मानिसको जीविकाको साधन भनेको माछा मार्ने मात्रै थियो ।

उस्तै साहशीहरू  र समुद्रमा तल तल सम्म पुगेर मोती सङ्कलन गर्ने गर्दथे ।

जलविहीन मरुभूमि !

आगोको मुस्लोमा पसे जस्तो खपिनसक्नुको  तातो भूभाग ।

तर तिनै शेख जायद बिन सुल्तान अल नहायनले आफ्नै कार्यकालमा सवैतिर १० लेनको सुन्दर सडक बनाए ।

ठूला ठूला उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, विश्व स्तरका स्कूल, कलेज, अस्पताल, भवन, पार्क, हरिया बन क्षेत्र, फलफूलले त्यही मरुभूमिलाई भरिपूर्ण बनाए ।

जनताको जीवन स्तरलाई आकाशमा पुर्याए ।

विश्वको सवैभन्दा समृद्ध तीन मुलुकमा गणना हुन्छ -युएई  !

अझ दुबईमा तेलको आय भनेको शून्य जस्तै ।

नेतृत्वको सिर्जनात्मक सोच, जनताप्रतिको निष्ठा, प्रतिवद्धता  र जनताको पुरुषार्थले दुबई खडा भयो ।

 

६. संयोगले, दुर्घटनाका कारण प्रधानमन्त्री हुन पुगेका पी.भी. नरसिंह रावले एकाध महिना भित्रै टाट उल्टिन लागेको भारतलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराए ।

गरीवी, अनिकाल, रोग र अभावको पर्याय जस्तै बनेको माओको चीनलाई यौटै देङ्ग सियाओ पेङ्गले नयाँ जीवन र शक्ति प्रदान गरिदिए ।

क्षत विक्षत, आर्थिक, राजनीतिक र सामाजिक रूपमा लथालिङ्ग  र भविष्य हराएको रूसलाई यौटै पुटिनले पुनः गौरव, शक्ति र सामर्थ्य प्रदान गरेर प्रमुख  विश्व शक्तिको रूपमा स्थापना गरे ।

 

७. वेलायत र नेपालको इतिहास एकैसाथ जस्तो शुरू हुन्छ ।

नेपालको एकीकरण पछि स्वतन्त्र अस्तित्वमा आएको हो अमेरिका ।

नेपाल, बेलायत, अमेरिका सवै कृषि युगमै थिए -त्यतिखेर !

विकास र आय स्थितिमा त्यत्रो ठूलो अन्तर थिएन ।

नेपालले सभ्यता, संस्कृति र आर्थिक समृद्घीको युगमा प्रवेश गरिसक्दा आजका विश्वका समृद्ध नर्वे, डेनमार्क जस्ता युरोपियन राष्ट्रहरू जंगल र गुफा युगमै थिए ।

विश्वभर साम्राज्य कायम गरेको ब्रिटिस शासन र महा चीनसँग युद्ध गर्ने सामर्थ्य राख्ने मुलुक थियो नेपाल !

उनीहरूले जनतालाई आधुनिक शिक्षा र ज्ञान-विज्ञानको युगमा प्रवेश गराए ।

स्कूल, कलेज र विश्वविद्यालयहरू खोले ।

अझ अमेरिकीहरूले त मुलुक स्वतन्त्र गराउनु भन्दा धेरै अघि विश्वविद्यालयहरू स्थापना गरिसकेका थिए ।

ब्रिटेनले नागरिक  स्वतन्त्रता र प्रजातन्त्रको लडाई लड्नु भन्दा धेरै अघि विश्वविद्यालयहरू स्थापना गरिसकेका थिए ।

प्रजातन्त्र, नागरिक स्वतन्त्रता बुझ्नु भन्दा पहिला शिक्षा बुझे I

बेलायत, अमेरिका आदि मुलुकले पहिला विश्वविद्यालयहरू स्थापना गरे अनि मात्रै दल खोले ।

 

८. हामीले पहिला दल बनायौँ, अनि विश्वविद्यालयहरू स्थापना गर्यौँ ।

पहिला दल सिकायौँ, दलका शिक्षक बनायौँ, दलका विद्यार्थी बनायौँ, दलका राष्ट्र सेवक कर्मचारी र हुँदा हुँदा न्यायाधीशहरू पनि दल कै बनाउने भयौँ !

दलहरूलाई विश्वविद्यालयका स्वामी बनायौँ, मालिक बनायौँ ।

दलहरूलाई ज्ञान, विज्ञान, प्रविधि र शीप, उद्योग-व्यापार, अर्थतन्त्र र समृद्धि र राष्ट्र भन्दा माथि राख्यौँ  !

तिनै स्कूल, कलेज र विश्व विद्यालयहरूले बेलायत, अमेरिका, फ्रान्स, जर्मनी आदि मुलुकलाई औद्योगिक युगमा प्रवेश गराए ।

मुलुकलाई अथाह समृद्धिको युगमा प्रवेश गराए ।

हाम्राले ? भनिरहन नै परेन ।

स्मरण रहोस कुनै समय संयुक्त राज्य अमेरिका भन्दा शक्तिशाली र सम्पन्न मुलुक थियो अर्जेन्टिना !

भारत र चीन अमेरिका र बेलायत भन्दा समृद्ध थिए ।

 

९. दोस्रो विश्व युद्धमा ध्वस्त भएको थियो जापान !

त्यतिखेर जापान औद्योगिक राष्ट्र थिएन, कृषि प्रधान नै थियो I

युद्धले सखाप बनाइदियो ।

१९५३ मा जापानले विश्व बैंकसँग ३१ ठूला परियोजनाका लागि आठ सय ६३ मिलियन डलर ऋण लियो ।

सरकार इमान्दार थियो, देशभक्त थियो !

असाधारण सफलताका साथ परियोजना सफल बनायो ।

१९६६ मा अन्तिम ऋण लियो ।

उस्तै सफलता आर्जन गर्यो ।

त्यसपछि जापान आफैँ विश्व बैंक जस्ता वित्तिय सँस्थालाई नै ऋण दिने हैसियतमा पुग्यो ।

१९७० मा अमेरिका पछिको दोस्रो ठूलो अर्थतन्त्र बन्यो ।

२०१० तिर आएर मात्रै चीनले ठूलो अर्थतन्त्रको रूपमा जित्यो तर जनताको जीवनस्तरको सवालमा जापान विकसित राष्ट्र हो र चीन विकासोन्मुख नै !

दक्षिण कोरिया, ताइवान, मलेसिया, सिङ्गापुर, थाईल्याण्ड त्यसैगरी उठे ।

 

१०. देशको मूख्य साधन, स्रोत, पूँजी, सम्पत्ति, पूर्वाधार, शिक्षा, शिक्षक भनेकै नेतृत्व हो ।

राष्ट्र र जनताको शक्ति भनेकै नेतृत्व हो ।

जुन मुलुकसँग नेतृत्व छ, त्यो मुलुकसँग सवै छ ।

जहाँ नेतृत्व छैन, त्यहाँ सवैथोक भएर पनि केही हुँदैन ।

नेता र  नेतृत्व भए बोत्स्वाना, बेलायत, जापान, नर्वे, दक्षिण कोरिया, युएईहरू बनाउँछन्  ।

नभए देश-अफगानिस्तान, उत्तर कोरिया  नेपाल, कङ्गो, नाइजेरिया हुन्छ ।

स्मरण रहोस, कङ्गो र नाइजेरियामा उपलव्ध साधन र स्रोतले सिङ्गो अफ्रिकालाई पाल्दछ ।

नेपालको कर्णाली, लुम्बिनी, गण्डकी वा एक नम्बर प्रदेश मध्ये कुनै यौटै प्रदेशले सिङ्गो नेपाललाई पाल्दछ, समृद्धि दिन सक्दछ ।

तर त्यसकोलागि नेतृत्व चाहिन्छ !

सङ्क्षेपमा भन्दा मुलुकलाई माया गर्ने, जनतालाई माया गर्ने, भावी पुस्तालाई माया गर्ने नेतृत्व चाहिन्छ ।

मुलुकको इतिहास, धर्म,परम्परा र संस्कृतिलाई  माया गर्ने नेतृत्व चाहिन्छ ।

मुलुकका खोला-नाला, पाखा, पर्वत, जीव वनष्पति र पर्यावरणलाई  माया गर्ने नेतृत्व चाहिन्छ ।

जनताले माया गर्ने नेतृत्व चाहिन्छ ।

तर दुर्भाग्य ……… !!!

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा