२३ कार्तिक २०८१, शुक्रबार

‘त्यसैले ख्याल ख्याल छैन, नयाँ पार्टी खोल्न र चलाउन ! कसो माधव नेपालजी ?’


केशव प्रसाद भट्टराई

१. तीस वर्ष सम्म पंचायतमा बसेर राजनीति गरेका हौँ भन्ने पंचहरूको राष्ट्रव्यापी सम्पर्क थियो ।
विदेशमा पनि बलियो आड थियो
शिक्षा र अनुभवमा उत्कृष्ट थिए, भन्न सकिन्छ ।
शिक्षा, ज्ञान, अनुभव, योग्यता र कार्यक्षमतामा काङ्ग्रेस र कम्युनिस्टका कुनै नेता भन्दा कम छैनन्, राप्रपाका नेताहरू !
सम्पत्तिको पनि कमी थिएन ।
तर जव निष्ठाको कुरा आउँछ ?
त्यसैले पार्टी ?
भन्नै पर्दैन !

२. वामदेव गौत्तम, सीपी मैनाली, राधाकृष्ण मैनाली, देवी ओझा देखि घनश्याम भुसाल र योगेश भट्टराईहरू के कुरामा कम थिए ?
नयाँ पार्टी खोले, हालत दुनियाँ सामू छर्लङ्ग भयो !
कोही पुरानैमा फर्किए, फर्किएकाहरू कोही बोकेरै बसेका छन् ।
नफर्किएका कोही युट्युबरको अन्तर्वार्तामा राजनीति धानिरहेका छन् ।

३. नयाँ पार्टी शेर बहादुरजीले पनि चलाउनु भयो ,
रामचन्द्रजीले उकास्नसम्म उकास्नु भयो देउवाजीलाई नयाँ पार्टी खोल्न !
उहाँ नयाँ पार्टीको अध्यक्ष हुन जमजमाएर बस्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रामचन्द्र पौडेल घरबाट हिड्नु भयो, आउँदै हुनुहुन्छ, केही मिनेटमा सभास्थलमा प्रवेश गर्दै हुनुहुन्छ भनेर रनिङ् कमेन्ट्री चलिरहेको थियो ।
सम्मेलन केन्द्रतिर जान उहाँको गाडी के लागेको थियो, गिरिजाबाबुको फोन आयो ।
रामचन्द्रजी गिरिजाबाबुको निवाश महाराजगंजतर्फ मोडिनु भयो !
ऊता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रामचन्द्रजी केही मिनेट भित्र आउने रनिङ् कमेन्ट्री आइरह्यो !
तर रामचन्द्रजी गिरिजाबाबुसँगको केही समयको खुसुरपुसुरपछि बोहोराटार नै फर्किनु भयो ।
अन्त्यमा शेर बहादुरजीले नै सभापति सम्हाल्नु भयो नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको !
एकसे एक मानिस थिए नयाँ काङ्ग्रेसमा ।
पैसा पनि थियो ।
तर देउवाजीले पनि धान्न सक्नुभएन,
पार्टीको घरभाडा र कर्मचारी तलब धान्न पनि हम्मेहम्मे पर्यो !
अनि फर्किनु भयो पुरानैमा, ४० प्रतिशतको भाग उठाउन !

४. धेरै भएको छैन, तामझामका साथ डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्नुभएको !
ठूलो घमण्ड थियो, उहाँलाई आफ्नो नाऊमा र पूर्व प्रधानमन्त्रीको पहिचानमा र वाह्य शक्तिको आडमा ।
तर आफ्नै ग्रिह जिल्लामा आफैँलाई एक सिट जित्न पनि काङ्ग्रेसको समर्थन चाहियो ।
अहिले उपेन्द्र यादवको सरणमा हुनुहुन्छ !
र त्यहीं भित्रको अन्तरविरोधमा खेलेर र अन्तरविरोध चर्काएर राजनीति धानिरहनु भएको छ ।

५. नेमकिपा,विवेकशील साझा, नयाँ शक्ति, नेपालका लागि नेपाली,जरोकिलो, लगायत धेरै पार्टी छन् ,
ती मध्ये विवेकशील साझाले मुलुकमा आफ्नो उपस्थितिसम्म जताउन सकेको छ ।
नेमकिपा भक्तपुरको एउटा सानो भूभागमा सीमित छ ।
चित्र बहादुरजीको जनमोर्चाले एमालेको समर्थनमा संसदमा एक सिट पाएको छ ।
युट्युब र मिडियाले धानिदिएको जीवनमा सीमित छ- धेरैको अस्तित्व ।

६. दुइटा प्रजातन्त्रवादी पार्टी – एउटा मध्यमार्गी र एउटा संवर्द्धनवादी अर्थात् कन्सर्भेटिभ चलनचल्तीको भाषामा कन्जरभेटिभ पार्टी भए पुग्छ हामीलाई ।
अनि दुइटा कम्युनिस्ट पार्टी – एउटा क्रान्तिकारी धारको र एउटा एमाले जस्तो मध्यमार्गी धारको !
अनि नभई नभए एउटा समाजवादी !
त्यो भन्दा बढी चाहिन्न !
कथित ठूलो आन्दोलन र बलिदान पछि अस्तित्वमा आएका मधेश केन्द्रित दलहरूले भन्दा मधेशमा काङ्ग्रेस र कम्युनिस्ट दलहरूले धेरै जनमत ल्याएका कुरा गत निर्वाचन परिणामले भन्दछ ।

७. त्यसैले ख्याल ख्याल छैन, नयाँ पार्टी खोल्न र चलाउन !
कसो माधव नेपालजी ?
वामदेव गौत्तम, सीपी मैनाली, राधाकृष्ण मैनाली, देवी ओझाहरू योग्यता-क्षमता, सङ्घर्ष, त्याग, बलिदानमा के कम छन् र तपाइँ भन्दा ?
एउटा श्लोक छ संस्कृतमा,सम्भवत महाभारतको विदुर नीतिको अंश हो –
“स्थान भ्रष्टा नशोभन्ते
दन्ता: केशा: नखा: नरा:
इति विज्ञाय मतिमान्
स्वस्थानं न परित्यजेत्।।”
अर्थ र आशय हो – नङ्, कपाल र दाँत शरीरबाट अलग भए पछि जसरी त्यो अपवित्र र अर्थहीन हुन पुग्दछ,
अशोभनीय बन्न पुग्दछ ।
आफ्नो स्थानबाट च्युत भएको मानिस पनि त्यस्तै हुन्छ ।
यति कुरा विचार गरेर वुद्धिमान व्यक्तिले आफ्नो स्थान र मर्यादालाई परित्याग नगरोस, नभुलोस !
चाहे काङ्ग्रेसका हुन् चाहे कम्युनिस्टका वा राप्रपा र विवेकशील साझाका त्यहाँ भित्र विरोध गर्ने, लड्ने, जुध्ने सवै गर्न सकिन्छ,
निष्कृय हुन सकिन्छ तर पार्टी हितविरूद्ध उभिने अधिकार दिने पार्टी र अधिकार दावी गर्ने नेता निष्ठामा बाँचेकाहरूका माझ राजनीतिक, नैतिक र सांस्कृतिक आधारमा असत्तीहरू हुन् !
त्यस्तो अधिकार दिने पार्टी र अधिकार दावी गर्ने नेता दुवै, अपराधी हुन् !
शिक्षा, सम्पत्ति, पद, अनुभव, आड, बंशले सघाउ पुर्याउला,
तर निष्ठा-सिद्धान्त निष्ठा, पार्टी निष्ठा, राष्ट्र निष्ठा र धर्म र संस्कृति प्रतिको निष्ठा भन्दा माथि कसैको व्यक्तित्व किमार्थ हुन सक्दैन !
त्यस्तो निष्ठा भन्दा माथि कसैको व्यक्तित्वनिर्माण हुनै सक्दैन ।
निन्दा, घृणा, हिंसा, झूठ, भ्रम र नकारात्मकताको बलमा पनि स्थायी राजनीतिक शक्ति निर्माण हुन सक्ला र ?

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !