१३ बैशाख २०८१, बिहिबार

भारत-चीन सीमा विवाद र यस क्षेत्रको विगत र वर्तमान इतिहासको यो पक्ष


केशव प्रसाद भट्टराई

भारत-चीन सीमा विवाद र यस क्षेत्रको विगत र वर्तमान इतिहासको यो पक्ष

१. आज भन्दा १३२ वर्ष अघि सन् १८८९ मा रूसी सम्राट ब्रिटिस भारतले क्याप्टेन फ्रान्सिस यङ्हज्बेण्डलाई पामिर पर्वत शृंखला क्षेत्र र रूसी सम्राटले क्याप्टेन ग्रोमचेभेस्कीलाई तिब्बत र कर्णेल यानोवलाई पामिर क्षेत्रको अभियान दलमा खटाएका थिए ।

ग्रोमचेभेस्कीको अभियान प्रारम्भ हुनु अघि रुसी सम्राट जार अलेग्जेन्डर तृतीय अर्थात सर्गे लभोविच लेभिट्स्की र रूसी जनरल निकोलाई मिखाइलोविच प्रेझेभल्सकी सहितको उपस्थितिमा रूसी सम्राटले तिब्बतका महान लामा दलाई लामासँग भेट्ने आफ्नो उत्कट अभिलासा रहेको जताए ।

सो क्रममा क्याप्टेन ग्रोमचेभेस्कीले दलाई लामालाई सम्राट समक्ष उपस्थित गराउने र सम्राटले उनलाई आफ्नै आँखा सामू पाउने वचन दिएका थिए ।
जतिखेर क्याप्टेन ग्रोमचेभेस्की तिब्बतमा खटिएका थिए त्यतिखेर ब्रिटिस भारत र जर्मनीका अभियान दल पनि तिब्बत खटिएको थियो ।

त्यसै बखत काश्मिरदेखि तिब्बत हुँदै पामिर क्षेत्रसम्मको अभियानमा यङ्हज्बेण्ड पनि गएका थिए ।
पामिर पर्वत क्षेत्रमा पामिरको गाँठो भनिने शृंखलाबाटनै एसियाका हिन्दकुस, कराकोरम र कुनलुन हिमालय पर्वत शृंखलाहरूबाट उठेका छन् – जसको एउटा पर्वत श्रेणी यता आएर नेपाल हुँदै म्यान्मारसम्म विस्तारित छ ।

आज पामिरको अधिकांश क्षेत्र मध्य एसियाको ताजिकिस्तानमा पर्दछ र बाँकी भूभाग अफगानिस्तान, किर्गिजस्तान र चीन अधिनस्थ सिन्जियाङ् अर्थात् पूर्वी तुर्किस्तानमा पर्दछ र सोभियतसङ्घ हुँदा आजको ताजिकिस्तान लगायत मध्य एसियाका पाँचबटै मुलुक माथि सोभियत शासन थियो ।

त्यतिखेर कश्मिर र लद्दाखदेखि तिब्बत हुँदै पामिरसम्म ब्रिटिस भारत, रूस लगायत युरोपेली मुलुकका विभिन्न समूहहरू प्रकट र गुप्त अभियानमा संलग्न थिए ।

त्यस्तो अभियान त्यस क्षेत्रमा त्यो भन्दा एक सय वर्ष भन्दा अघिदेखि निरन्तर चलिरहेको थियो ।

२. पामिरमा कर्णेल यानोभ र क्याप्टेन यङ्हजबेन्ड विवाद

क्याप्टेन यङ्हजबेन्ड पामिर क्षेत्रमा अफगानिस्तान- काश्मिर निकट आफ्नो शिविरमा बसिरहेका थिए ।
उनको शिविर भन्दा सात आठ सय छातीमा वीरताको सर्वोच्च रूसी पदक लगाएका एक सैनिक अधिकारी र केही अन्य सैनिकहरू देखिए ।

यङ्हज्बेण्डले उनीहरूलाई आफ्नो शिविरमा आमन्त्रण गर्न एक सैनिकलाई पठाए ।
उनीहरू आए ।
रूसी अधिकारीले आफूलाई कर्णेल यानोभ बताए ।

त्यतिखेर सिङ्गो पामिर क्षेत्रलाई रूसले आफ्नो भूभागमा गाभ्न चाहिरहेको कुरा आइरहेको थियो ।
यङ्हज्बेण्डले यानोभलाई त्यस बारे सोधे र ब्रिटिस भारत सरकार र लण्डनको ब्रिटिस सरकार त्यसबारे गम्भीर रहेको बताए ।

यानोभले एउटा नक्सा झिकेर टेबुलमा फिँजाउदै हिमालय क्षेत्रमा भारतीय पानी ढलो समेत चिन्हित रूसी नक्सा र देखाए उक्त सबै भूभाग आफ्नो मुलुकको भएको बताए ।

त्यो देखेर यङ्हज्बेण्डले रूसले धेरै ठूलो मुख बाएको त होइन ? भनेर सोधे ।
यानोभले उत्तर दिए ‘यो त आरम्भ मात्रै हो ‘

त्यसको तीन दिन पछि यानोभ फेरी फर्किएर यङ्हज्बेण्डको शिविरमा आए र अघिल्लो पटक आफूहरू आउँदा उक्त भूभाग रूसी भन्ने न लागेको तर सेन्ट पिट्सबर्ग (तत्कालिन रूसी राजधानी) बाट प्राप्त जानकारी अनुसार यङ्हज्बेण्डले शिविर खडा गरेको भूभाग रूसी भूभाग भएको र उनले तत्काल उक्त क्षेत्र छोडेर जाने आदेश दिए ।

यङ्हज्बेण्डले सो क्षेत्र आफ्नो नियन्त्रण र प्रभाव अन्तर्गत रहेकोले सो आदेश आफूले स्वीकार गर्न नसक्ने बताए पछि त्यस अवस्थामा उनलाई बल पूर्वक सो क्षेत्रबाट हटाइने यानोभले बताए ।

यानोभको तुलनामा यङ्हज्बेण्डको सैन्य शक्ति थोरै थियो र त्यो पनि तत्काल उनको साथमा थिएन ,
त्यसपछि लाचारीका साथ उनी त्यहाँबाट बाहिरिए ।

( स्रोत यङ्हज्बेण्डले सो सम्बन्धमा आफ्नो सरकार समक्ष सन् १८९०मा प्रस्तुत प्रतिवेदन र पिटर हप्किर्क लिखित दी ग्रेट गेम अँ सेक्रेट सर्भिस इन हाई एसिया)

३. विगत र वर्तमानको यो कडी

पामिर, तिब्बत, काश्मिर क्षेत्र शताब्दियौंदेखि महाशक्ति राष्ट्रहरूको आपसी द्वन्द्व, युद्ध र तनावको क्षेत्र थियो भन्ने कुराको यो एउटा उदाहरण हो ।

संसारका दुई मूख्य सभ्यता र संस्कृतिको केन्द्र, एसियाका तीन प्रमुख हिमालय पर्वत शृंखला र तेस्रो ध्रुव र पृथ्वीको केन्द्र भनेर बुझिने अनि एसियामा बग्ने सवै ठूला नदीहरूको मुहान र विराट परिमाणमा बहुमूल्य खनिज र तेल सम्पदाको भण्डार रहेको यो क्षेत्रलाई त्यसै विश्वको हृदय क्षेत्र (हार्ट ल्याण्ड) भनिएको होइन रहेछ भनेर आज झन् स्पष्ट भएको छ ।

यिनै परिवेशमा १९६२को चीन-भारत युद्ध, केही अघिको भारत र चीनवीचको सीमा द्वन्द्व तथा विवाद,
१९४७ देखिको भारत र पाकिस्तान वीचको सम्वन्ध र नेपालमा महाशक्ति राष्ट्रहरूको रुचि र हालै आएर नेपालमा चीनको बढ्दो दवाव, प्रभाव र हस्तक्षेप यङ्हज्बेण्ड-यानोभ विवादकै निरन्तरता हो भनेर बुझ्नु अत्युक्ति नहोला ।

साथै यसको एउटा अर्को पक्ष छ –

भारत इशा पूर्व ५०० मा पर्सियाका सम्राट डारियस महानको पालादेखि, इशा पूर्व तेस्रो सताव्दीमा अलेगजेन्डर हुँदै सन् ९९७ देखि १०२६ सम्म वर्तमान अफगानिस्तान लगायत मध्य र पश्चिम एसियाको ठूलो भूभागमा शासन गरिरहेका मुसलमान शासक मुहम्मद गजनी, सन् ११७५ देखि १२०६ सम्म मोहम्मद गोरी, १७३९ मा पर्सियाका नादिर शाह ,१७५६मा पश्चिम र मध्य एसियाका शासक अहमद शाह दुरानीले भारत माथि दुई दर्जन पटक भन्दा बढी क्रूर र बर्बर आक्रमण गरे ।

सन् १५२६ मा अफगानिस्तानतिरबाट आएका बाबरले मुगल शासन स्थापना गरे र १७५७ मा भारतमा इस्ट इन्डिया कम्पनीको शासन भारतमा कायम भयो ।

सताव्दियौँ देखिको यस्तो आक्रमण, भयंकर लुटपाट, मारकाट आदिबाट क्षत-विक्षत भारतको राष्ट्रिय मनोविज्ञानमा एक किसिमको गहीरो पीडा र असुरक्षाको भावना छ र त्यसको भूराजनीतिक असर छर छिमेकमा अनुभव भइ पनि रहेको छ ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !