६ बैशाख २०८१, बिहिबार

तलका प्रश्नहरू ओलीको मूख्य राजनीतिक शक्ति बनेको हो जस्तो लाग्दछ


केशव प्रसाद भट्टराई

तलका प्रश्नहरू ओलीको मूख्य राजनीतिक शक्ति बनेको हो जस्तो लाग्दछ-

१. निसन्देह, केपी शर्मा ओलीले इमान्दारीका साथ संविधानको पालना गरेका छैनन्,
तर के संविधान निर्माताहरू संविधान निर्माणको क्रममा मुलुक, प्रजातन्त्र संविधानको लक्ष्य, मर्म र भावनाप्रति इमान्दार थिए ?
जुन संविधान जन्मिदैं निष्ठाहीनताको शिकार भएर, रोगी भएर जन्मियो – त्यसले समस्या निर्माण गार्नु स्वाभाविक होइन ?

२. ओलीको विकल्पमा देखिइरहेका वा उनका विरोधीहरूमा प्रथम र दोस्रो पंक्तिमा रहेका व्यक्तिहरूको राजनीतिक व्यक्तित्व, चरित्र, निष्ठा र क्षमता ओलीको भन्दा विशिष्ट छ ?
वा ओली उनीहरू भन्दा ती सवालमा निम्छरा वा कमजोर छन् ?

३. कथित जनयुद्ध लगायत जुन परिवर्तनको पृष्ठभूमिमा यो संविधान र यो राजनीतिक परिवर्तन आएको थियो, त्यसमा राष्ट्र र जनताको मत र विश्वासको प्रतिनिधित्व कति थियो ?
त्यसले राष्ट्रको चेतना र विवेकलाई बोकेको थियो कि राष्ट्रको विवेक र चेतनाको बर्बर र पाशविक हत्या र दमन गरेर त्यो परिवर्तन आएको थियो ?
परिवर्तन र उपलव्धि कसका लागि थियो र बन्यो ?
माओवादी, नेपाली काँग्रेस, एमाले, राप्रपा, मधेश केन्द्रित दलका केही लाउकेहरू, केही कथित नागरिक अगुवा, मिडिया व्यापारी र सत्ता निकट ठेकेदारहरूका लागि कि तिनका आम कार्यकर्ता र जनताका लागि ?

४. कुनै राजनीतिक सत्ता स्वार्थसँग गाँसिएर हुने आन्दोलन, बन्द, चक्का जाम वा आम हडतालको नाउमा कसैको जीवन, सम्पत्ति र स्वतन्त्र आवागमनमा हुने गरिने ज्यादती सानो महत्वको र त्यस्तो कार्यक्रमको आयोजकको कुनै बैठकमा रखिएको कुर्सी सानो-ठूलो, होचो, अग्लो हुनु चाँही राष्ट्र र आम जनताको ठूलो सरोकारको विषय हुन्छ ?
एउटा हकरको फलफुल वा तरकारी सडकमा फ़ालिदिएर वा ऋण धन गरेर खेतबारी बेचेर कसैले जोडेको ट्याक्सीमा आगो लगाइदिँदा त्यहाँ संविधान उल्लङ्घन बह्येको हुन्न ?

५. यो संविधान आएपछि त्यस पछि बनेका सरकारहरूको कार्यकालमा नयाँ दलहरू बने होलान, नेताहरू र मन्त्रीहरूका नयाँ घर बने होलान, तिनका घर-आँगनमा जाने बाटो ठूलो र फराकिलो भयो होला,
तर डेढ दशकमा बीर अस्पतालको अवस्थामा सुधार भयो ?
टिचिंग अस्पतालमा सुधार भयो ?
जिल्ला र क्षेत्रीय अस्पतालहरू ?
वडा तहदेखि राष्ट्रिय तहसम्म हजारौँ राजनीतिक जागिरेहरूको दरबन्दी संविधानले थप्यो तर त्यसपछि स्कूलमा शिक्षकहरूको दरबन्दी थापियो ?
स्वास्थलाई जनताको मौलिक अधिकार बताउने संविधान आए पछि कति डाक्टर र नर्सको दरवन्दी थपियो ?
आदि आदि .….?
एउटा राम्रो जनताले विश्वास गर्ने नयाँ स्कूल, कलेज र विश्व विद्यालय मुलुकमा थपियो ?
दुई चार हजारले रोजगारी पाउने कुनै नयाँ उद्योग खुल्यो ?
नेपाली उत्पादनले विश्व बजारमा स्थान पाए ?
योग्यता र क्षमताले सम्मान र स्थान पाउने वातावरण मुलुकमा बन्यो ?
दल र नेता निकटका व्यक्ति बाहेकले मुलुकमा अवशर र सम्भावना देखेका छन् ?
भ्रष्टाचारमा संलग्न नरहेका कुनै नेता र चल्तीका कार्यकर्ता कुनै मूख्य दलहरूमा छन् ?

६. अनि ओली किन नहुने र आर्को कोही किन हुने ?
अर्को को आएर मेरा माथिका प्रश्न हरूको उत्तर दिने ?
जवाफ मैले खोज्ने कि कसैले मलाई दिने ?
मलाई उत्तर दिनु नपर्नेलाई कुर्सीमा पुर्याउन र फूलमाला लगाइदिन म लगायतका अदना नागरिकको किन सरोकार हुन्छ म त बुझ्दिन ।
बुझ्ने जानोस् सडकमा आन्दोलन गर्न ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !