७ बैशाख २०८१, शुक्रबार

संस्कार बिना देशको उत्थान सम्भव छैन


डा. राम बहादुर बोहरा

अहिले आफ्नै पिताको सम्मान गर्न नसक्नेहरु नै राजनीतिमा छन् । आफ्‍नै बाबुलाई बाबु भन्‍न नसक्नेहरूको जमात नेतृत्वमा बढ्दो छ । यो दु:खद हो । यस्ता व्यक्तिहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म उत्सव मनाउछन् भन्ने आशा गर्नु वेकार छ ।

हामीले जबसम्म संस्कारलाई जीवन्त राख्न सक्दैनौं तबसम्म चाहेर पनि हामीले परम्परालाई थाती राख्न सक्दैनौं । पृथ्वीनारायण शाहले एकिकरण गरे नाम दिए र आज हामी नेपाली बन्न सफल भएका छौं । राष्ट्रपितालाई नचिन्ने खालका व्यक्तिका कारण नै आज हाम्रो इज्जत खस्कदै गएको छ ।

हरेक त्यो ब्यक्ति जबसम्म राष्ट्र प्रेम र राष्ट्रको स्वार्थमा नलागी व्यक्तिगत स्वारमा डुब्न थाल्दछ भने त्यस्ता व्यक्तिले राष्ट्र प्रेम केहो भन्ने वास्तविक अर्थ बुझ्न सकिरहेको हुदैन त्यसले राष्ट्रको हित त होइन आफ्नो हित अवश्य गरेको हुन्छ ।

हिजो र आज समय फरक छ । हिजो हरेकमा संस्कार थियो तर आज संस्कार होइन स्वार्थमा मान्छे डुब्दैछ । नेपालमा इज्जतको लागि पैसा खर्च गर्ने भन्दा इज्जत गुमाएर पैसा खर्च गर्ने व्यक्तिको जमात देखिएको छ ।

यो कस्तो राजनीति राष्ट्र स्वार्थमा भन्दा व्यक्ति स्वार्थमा जुटेर पनि देशको विकास सम्भव छ । हामीले अरूको नक्कल र अरूले भनेको आधारमा देशलाई खाडलमा हाल्दैछौं । देशको आर्थिक सामाजिक हित विपरीत काम गर्दैछौं ।

देशमा आम्दानीको स्रोत छैन । जनताले दिएको करमा मोजमस्ती गर्न लाज सर्म छैन । यूवालाई पलायन होइन आफ्नै देशमा रोजगार सिर्जना गराएर काम गर्ने वातावरण तयार गर्न सक्नुपर्छ । वन्द उद्योग खोल्न सवै जुट्न सक्नुपर्छ र मात्र देशमा परिवर्तन सम्भव छ ।

हिजोसम्म सवै डराउथे तर आज कोही डराउदैन यसको ठोस कारणहो नेतृत्वको चरित्र । यदि नेतृत्वले आफ्नो राष्ट्रको हितमा राम्रो काम गर्न सकेको भए यस्तो सायद हुने थिएन । हामीले आफ्नो भाषा संस्कृति सवै त्याग्दैछौं । देशको आर्थिक उन्नतितर्फ भन्दा आफ्नो विकासतर्फ लाग्दैछौं । हाम्रो सिद्धान्त राष्ट्र हितमा भन्दा आफ्नो स्वार्थमा रोमलिदै अगाडि बढ्न तल्लीन छौं ।

देशमा भ्रष्टाचार दिन प्रतिदिन बढ्दैछ । मान्छेले मान्छे गन्न छोडेको अवस्था छ । पाँच बर्ष कुर्सिमा बस्ने मान्छेले ५० बर्ष कुर्सिमा बसेको अनुभव गर्दै गलत काम तर्फ लाग्दैछ । मैले भुत, भविष्य र वर्तमान सबै बुझेर अघि बढ्नु पर्छ भन्ने सोच कसैमा छैन । आज राम्रो गरे भोली पनि अवसर प्राप्त हुन सक्छ भन्ने सोच कसैमा छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !