१२ बैशाख २०८१, बुधबार

दक्षिणपन्थी भुमरीमा बिलिन हुँदै गरेको नेपाली काँग्रेसको सडक आन्दोलन


रामचन्द्र तिम्सिना

हिउँदे संसद अधिवेशन खोल्न सांसदहरुको एक तिहाई हस्ताक्षर राष्ट्रपतिमा बुझाउनुको सट्टा सडक नै किन रोज्यो नेपाली काँग्रेसले ?
३ बर्षसम्म निदाएको काँग्रेस जागेको हो त ?
सडकमा राजावादीको प्रदर्शन देखेर हौसिएका त होईनन ?
रामचन्द्रको गिरफ्तारीले बिउँझाएको हो त ?
चरम भ्रष्टाचारले असह्य भएको हो त ?
कार्यकर्ता माझ उत्साहको सिर्जना गर्न पो होकी ?
राजावादी मात्र होईन हामी पनि अझै अस्तित्वमा छौं भनेर देखाउन खोजेका पो हुन कि ?

यद्यपि आफुलाई लोकतान्त्रिक बताउने नेपाली काँग्रेसले आजको यश प्रदर्शनलाई सांकेतिक र राजधानी केन्द्रित आन्दोलन शुरु गरेको छ तर सवाल धेरै उब्जिएका छन् तर त्यो भन्दा पहिला काँग्रेसको यो अवस्थालाई बिश्व घटनासंग मुल्यांकन गरेर हेरौं एकपटक ।

संसारभर एकैसाथ दक्षिणपन्थी आँधी कसरी आयो भनेर विश्लेषण गर्न सन् १९९० लाई समकालीन विश्व परिस्थितिको सबैभन्दा नजिकको प्रस्थान बिन्दु मानेर अगाडि बढौं ।

त्यो युग परिवर्तनको उथलपुथलले प्रभावित समय थियो, बर्लिनको पर्खाल भत्किसकेको थियो, पूर्वी युरोपमा उदार परिवर्तनको लहर चलेको थियो । इतिहासका असंख्य अपराध, पार्टी नोकरशाहीको हातमा आर्थिक र राजनीतिक सत्ताको अति केन्द्रिकरण र अतिशय हिंसाको बोझमा सोभियत संघले आफ्ना उज्याला सपनाहरू गुमाइसकेको थियो ।

त्यसका आधार स्तम्भहरू एकपछि अर्को गरेर ढल्दै थिए । संसार भविष्यको कुनै अज्ञात सम्भावनाले उत्सुक र उद्विग्न दुवै थियो । सोभियत साम्राज्यको भग्नावशेषमा उभिएर अतिरेक उत्साहका साथ अमेरिकी चिन्तक फ्रान्सिस फुकुयामाले त्यो ऐतिहासिक उथल-पुथलको न्वारन गरिदिए-इतिहासको अन्त्य …।

दक्षिणपन्थको सुनामीले संसारको अनुहार फेरिएको छ । सोभियत संघको पतन पछिको समय उदार लोकतन्त्रको समय थियो, अहिले दक्षिणपन्थी उभारको समय हो ।

रुस, अमेरिका, युरोपका विभिन्न देशहरू, भारत लगायत विश्वका शक्तिशाली राष्ट्रहरुमा जन-उत्तेजक राष्ट्रवादी शासकहरूले उदार लोकतन्त्रलाई पराजित गरेर सत्तामा आफ्नो उपस्थितिलाई झन् झन् सुदृढ गर्दै गर्दा त्यसको हावाबाट नेपाल अछुत रहन सकेन र सम्भव थिएन पनि ।

पछिल्लो मध्यावधि निर्वाचन र त्यसपछिका घटनाक्रमले काँग्रेसलाई त्यही सुनामीले बढारेको होकी भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

रेल, पानीजहाज, पाईप ग्याँस, मेट्रो, स्मार्टसिटी, सामजिक सुरक्षा भत्ता, स्वरोजगार, घरघरमा रोजगारी, आर्थिक वृद्धिदर ,सिंगापुर र स्विजरल्यान्डको अनुदार उत्तेजक नारा संगै “कम्युनिष्ट” एकताको त्यो कदमले पनि पुष्टी हुँदैछ …।

भ्रष्टाचारको चरम दलदलमा आफै फसेको उदारवादी लोकतान्त्रिक दल नेपाली काँग्रेस दक्षिणपन्थको यो भुमरीमा बिलिन हुने पो होकी भन्ने प्रश्न उब्जिएको छ ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !