१३ बैशाख २०८१, बिहिबार

व्यांग्यात्मक लेख “घाम ताप्ने दिवस”


रामचन्द्र तिम्सिना

मंसिर, पुष र माघ घाम ताप्ने महिना भन्दा फरक पर्दैन त्यस माथी पनि सडक र सदन दुबैतिर राजनीतिक राप तेजिलो छ ।
राजाबादीहरुले सडकमा घाम ताप्न शुरु गरेका छन्, गणतन्त्रबादीहरु कोहि मध्यावधिको निर्वाचनपछि कोहि पार्टी एकतापछि आ-आफ्नै तरिकाले घाम तापिरहेका छन् ।
सर्वसाधारण पहिल्यैदेखि खाडीमा सेकिएका छन् ।

खुल्लामञ्चको चौरमा बदाम छोडाउँदै मायालुको काखमा सिरानी राखेर घाम ताप्नुको मज्जा नै बेग्लै ।
घाम तापेर कालो चिया पिउँदै नेताज्युहरुको राष्ट्रवादी भाषण सुन्नुको मज्जा झन बेग्लै ।
यस्तो लाग्छ घाम कहिल्यै नडुबोस यसरी नै तातिएर बस्न पाईयोस भाषणमा मन्त्रमुग्ध एकातिर अलिंघनमा लुफ्त अर्कातिर आहा ।

रोग निवारक क्षमता र भिटामिन “डि” पाईने बैज्ञानिक खोज एकातिर, काम छल्ने बहाना अर्कोतिर ।
हाजिरे कर्मचारी र जागिरे कर्मचारी घाम ताप्न मै ब्यस्त ।
सत्तापक्ष-विपक्ष सबै घाम ताप्न मै ब्यस्त।
शिक्षक, विद्यार्थी, अभिभावक, किसान, मजदुर घाम ताप्न मै ब्यस्त ।
ए बुढी भात खाने बेला भएन र ?
पख्नुस् न एकछिन कति मीठो घाम लागेको छ ।

घाम ताप्दा ताप्दै लडेर शिक्षकको मृत्यु भन्ने समाचार सुनिएको थियो अघिल्लो साल ।
घाम ताप्दै जुवा खेल्ने ठुला घरानाको जुवाडेहरु समातिएको समाचार पढेको अस्ति जस्तो लाग्छ ।
घाम ताप्दै बियर पार्टी मनाउनेहरु बिच कुटाकुटको समाचार पनि सुनिएको थियो ।
घाम ताप्दै रासलिला गर्दा भाईरल भएको भिडियो हेरेको हिजो जस्तै लाग्छ ।
कयौंको घरबार टुटेको र जुटेको प्रशस्त उदाहरण छन् ।

तसर्थ महोदय,

कहिलेकाही त यस्तो लाग्छ अरु दिवस जस्तै “घाम ताप्ने” दिवस पनि बनाईयोस् ।
सार्वजनिक बिदा दिईयोस उद्घाटन समारोह गरेर शुभकामना आदानप्रदान गर्दै भब्य रूपमा मनाउन पाईयोस् ।

संयुक्त रास्ट्रसंघको मुख्यालय र सिंहदरबारमा यस्तो प्रस्ताव छिट्टै लगियोस यस एतिहासिक महिनालाई पनि दिवसको रूपमा मनाईयोस् ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !