संघर्ष र वलिदान ठूलो अरूको : प्रचार ठूलो राजनीतिज्ञ र सत्तासिनहरुको Nepalpatra
१९ मंसिर २०७७, शुक्रबार

संघर्ष र वलिदान ठूलो अरूको : प्रचार ठूलो राजनीतिज्ञ र सत्तासिनहरुको


केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई
केशव प्रसाद भट्टराई

काम, सङ्घर्ष, त्याग र वलिदान ठूलो अरूको : प्रचार ठूलो राजनीति गर्ने, सत्ता, शक्ति र सरकारमा हुनेको ।

१. आफ्नो प्रभाव र वर्चस्वमा वृद्धि र विस्तार अन्य व्यक्ति वा राज्यलाई प्रभावमा पार्नु वा उनीहरूमाथि आफ्नो नियन्त्रण स्थापना गर्ने चाहना, इच्छा वा सङ्कल्प कुनै मानिस वा राज्यको जन्मजात प्रवृत्ति र प्रकृति हो ।

शक्ति आर्जन गर्ने, शक्ति वृद्धि गर्ने, शक्तिमा खेल्ने, शक्ति प्रयोग गर्ने, शक्ति प्रयोगद्वारा अर्को व्यक्ति समूह वा राष्ट्रको व्यवहारलाई आफ्नो पक्षमा पार्ने त्यो स्वाभाविक चाहना पनि मानिसको नैसर्गिक प्रवृत्ति हो ।

राजनीति त्यसैको लागि हो । आन्दोलन, सङ्घर्ष, क्रान्ति, राजनीतिक हिंसा र मारकाट त्यसैका लागि हो । सरकार,सत्ता र शक्ति त्यसैको लागि हो ।

सम्पत्ति, ठूलो महल, गाडी, अपार सुख र विलासी जीवनका चाहना पछाडि पनि त्यही कुरा रहेको हुन्छ । पार्टी, नेतृत्व त्यसैका लागि हुन् ।

सेना, प्रहरी, गुप्तचर, गृह, रक्षा र विदेश मन्त्रालयहरू त्यसैका लागि हुन् । कूटनीति, रणनीति, हातहतियार, युद्ध त्यसैको लागि हो र शान्तिको प्रयास पनि त्यसैको लागि हो । अलग अलग राष्ट्र र राज्य पनि त्यसैकालागि हुन् ।

भारत, चीन वा अमेरिका, पाकिस्तान, बङ्गलादेश, बर्मा, नेपाल त्यसैका लागि हुन् । ट्रम्प, मोदी, सीजिन पिङ्ग होउन वा ओली, प्रचण्ड, देउवाहरू पनि त्यही प्रकृति र प्रवृत्तिबाट परिचालित हुन्छन् ।

२. कुनै भू-भागमा बस्ने मानिसको मूलतः व्यक्तिगत , पारिवारिक र समूहको सुरक्षाको सरोकार, साझा विचार, दृष्टि, धर्म, संस्कृति, भाषा, परम्परा र साझा हित, स्वार्थ र राष्ट्र बनेको वा बनाइएको हुन्छ । त्यही राष्ट्रले राज्य निर्माण गर्दछ ।

राज्यले त्यस्तो साझा सरोकार, हित र स्वार्थको रक्षा गर्न सकेन भने राज्यको मृत्यु हुन्छ । राष्ट्र लुप्त हुन्छ । भूगोलको विलय हुन्छ ।

३. आफूभन्दा कमजोर व्यक्ति र शक्ति विरूद्ध आफ्नो शक्तिको दम्भ प्रदर्शन व्यक्तिले पनि गर्छ र राष्ट्रले पनि । ओली, प्रचण्ड, देउवा, नेपाल, पौडेल वा उपेन्द्र यादवले पनि गर्छन र ट्रम्प, मोदी वा सी जिन्पिङ्ग र पुटिनले पनि गर्दछन् ।

सके नेपालले पनि गर्छ । हाम्रै नेताहरूको व्यवहार र अभ्यास हेरे भैगयो । भारत, चीन, अमेरिका जस्ताले नगर्ने कुरै भएन ।

४. राजनीतिमा आएका वा रहेका हरेक व्यक्ति कुनै न कुनै आग्रह, कुण्ठा, इर्ष्या, शत्रुत्वको भावना वा निजी आकाङ्क्षाबाट प्रेरित भएकै हुन्छन् । निजी सम्मान, स्वाभिमान वा अहं प्रदर्शनले पनि त्यहाँ निर्णायक भूमिका खेलेकै हुन्छ ।

ती सम्मान, अहं, आग्रह, कुण्ठा, इर्ष्या, शत्रुत्वको भावना वा निजी आकाङ्क्षाको परिपूर्तिको लागि कसैको सत्ता वा शक्ति खोसेर आफ्नो पक्षमा पार्ने क्रममा केही मूल्य चुक्ता गर्नु पर्दछ ।

त्यस्तो मूल्य चुकाइने क्रममा सत्ता र शक्तिका विरूद्ध हुँदा वा होँइदा हुने स्वाभाविक द्वन्द्व र सङ्घर्षलाई त्याग वा वलिदान जस्ता शव्दहरू पगरी गुताइने गरिन्छ I

त्यस्तो द्वन्द्व वा सङ्घर्षबाट लाभान्वित हुने वर्ग र समूह त्यस्तो प्रचारमा लाग्दछ, कसैलाई नेता मानेर,बनाएर उसको देवत्वकरण गरेर कुनै राजनीतिक विर्तामा आफू पनि सुरक्षित हुन चाहन्छ ।

५. नत्र कुनै वास्तविक किसान, मजदुर, विद्यार्थी, लेखक, कवि, कलाकार, खेलाडी, शिक्षक, राष्ट्र सेवक प्रहरी, कर्मचारी, साना-ठूला व्यापारी, उद्योगपतिले आफ्नो जीवनमा कुनै राजनीतिमा लागेको वा रहेको व्यक्तिले भन्दा कम सङ्घर्ष,वलिदान र त्याग गरेका हुन्नन् नी I

जीवन भोग्ने क्रममा पुस्तौँ पुस्तादेखि शोषण र उत्पीडन भोगेका, गरीवीमा बाँचिरहेका हजारौँ लाखौँ मानिसहरूको तुलनामा नेपालमा सत्ता र शक्तिको शिखरमा पुगेका राजनीतिक व्यक्तिहरूको एउटा पुस्ताले केही वर्ष गरेको सङ्घर्ष कसरी महान हुन्छ , म बुझ्दिन ।

सेवा र जीवन गाँसेर जिउन कठोर सङ्घर्ष गर्ने र अरूमाथि प्रभाव र नियन्त्रण स्थापना गर्न र सुख, सुविधा र अवसरको लागि राजनीति गर्नेहरूमा राजनीति गर्नेहरू श्रेष्ठ कसरी हुन्छन् , मैले जानेको छैन ।

तर राजनीतिमा रहेका, सत्ता र शक्तिमा रहेका व्यक्तिबाट लाभ पाउने वा लाभको आकाङ्क्षा राख्ने वा लाभबाट वन्चित रहेका राजनीतिमा, मिडियामा र अन्य सङ्गठित समूहमा रहेका व्यक्तिहरूको सङ्गठित समूहले राजनीतिमा वा सरकारमा रहेका व्यक्तिको प्रशंशा विरोध गरिरहने कारणले उनीहरूको सङ्घर्षले बढी प्रचार पाएको मात्रै हो ।

काम, सङ्घर्ष, त्याग र वलिदान ठूलो अरूको प्रचार ठूलो राजनीति गर्ने, सत्ता, शक्ति र सरकारमा हुनेको । तर राजनीति गर्नेले जे गरिरहेका छन् – माथि नै भनियो त्यो मानव प्रकृति हो ।

शक्तिको भोक पनि स्वाभाविक हो, प्राकृतिक हो । शक्ति प्रदर्शनको स्वाभाविक चाहना हो । भन्न खोजेको यति मात्रै हो कि राजनीति महान होइन, सवै कार्य महान हुन् । कुरा के पनि हो भने राजनीति गर्दाको परिणाम महान सावित भयो भएन भन्ने मात्रै हो । मूल कुरो कार्यले मात्रै कोही महान् हुन्न कार्यको परिणामले मात्रै कसैलाई महान गराउँछ !

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !