, समितिको ध्यान खेलाडीको हकहितभन्दा आम्दानीतिर

समितिको ध्यान खेलाडीको हकहितभन्दा आम्दानीतिर

भीमदत्तनगर, ५ चैत । झण्डै छ वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकूद विकास समितिको कभर्डहलको पूर्वपट्टि बक्सिङ सङ्घको प्रशिक्षण केन्द्रको शिलान्यास गर्ने कामलाई अन्यत्र सारियो । खाल्डो खनेर पूजाका लागि तत्कालीन राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव युवराज लामा तम्तयार हुँदा खेलकूदको गुरुयोजनामा असर पर्ने भन्दै जिल्ला खेलकूदका पदाधिकारी र उपस्थित केहीले समितिको जग्गाको उत्तरपूर्वको छेउमा शिलान्यास गराए ।

केही वर्ष नबित्दै गुरुयोजना लत्याउँदै २०७२ साल मङ्सिरमा प्रक्रिया नपु¥याई समितिले आफूसँग रहेको जग्गामध्ये सात बिघा माछापोखरी बनाउन लिजमा दिएपछि त्यसको सर्वत्र आलोचना भयो । कवर्डहल परिसरकै जग्गामध्ये सात बिघा त्यसअघि २०५४ सालदेखि समितिले कृषि प्रयोजनका लागि ठेक्कामा दिँदै आएको थियो । पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद्बाट सहमति लिएर समितिको जग्गामा ९४ वटा व्यापारिक सटर निर्माण हुन थालेपछि समिति पुनः आलोचित भइरहेको छ ।

“खेल संरचना निर्माण हुने ठाउँमा कहिले माछापाखेरी त कहिले व्यापारका लागि सटर निर्माण भइरहँदा ठूलो चिन्ताको विषय बनेको छ”, एक खेल प्रशिक्षकले भन्नुभयो, “खेल गतिविधि र खेल संरचनाको निर्माणको साटो व्यापार गर्न उक्त जग्गा छुट्याइएको होइन ।”

केही दिनयता समितिको जग्गामा धमाधम सटर निर्माण हुन थालेपछि भीमदत्त नगरपालिकाले नक्सापास नगरी संरचना नबनाउन सुझाएपछि काम रोकिएको छ । खेलकूद विकास समिति केही महिनायता पदाधिकारीविहीन रहेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।

“चाहिएका बेला खाली गर्ने सहमतिमा आम्दानी बाँध्न जग्गा भाडामा दिएका हौँ”, उहाँले भन्नुभयो, “नक्सापासको विषय उठेपछि अहिले त्यो प्रक्रिया पु¥याउनेमा लागिरहेका छौँ ।” पन्ध बिघा एक कठ्ठा छ धुर जग्गा रहेको खेलकूदको पुर्जामा हालसाविक भिडाउँदा चार कठ्ठा जग्गा बढी देखिएपछि त्यसमा नगरपालिकाको आँखा लागेको खेलकूद सम्बद्ध स्रोतले जनाएको छ ।

“नगरपालिकाबाट बढी भएको चार कठ्ठा अलग्गै छुट्याएर राख्नु, हरित उद्यान बनाउँला भन्ने कुरो आएको हो”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “त्यो जग्गा लामो समयदेखि समितिले नै भोगचलन गर्दै आएकाले खेलकै लागि उपयोग गर्नुपर्नेमा यहाँका प्रशिक्षक र पदाधिकारी एकजुट छन् ।”

उता केन्द्रीयस्तरबाट यहाँको समितिको जग्गामा क्रिकेट एकेडेमी बनाउने योजना अघि बढिसकेको छ । सो अन्र्तगत चालू आर्थिक वर्षमा क्रिकेट मैदान निर्माणका क्रममा माटो भर्न रु एक करोड रकम आएर सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिले काम गरिरहेको छ । क्रिकेट मैदान बनाउने स्थानमा माछापोखरी यथावत छ । जिल्ला खेलकूद विकास समितिले माछापोखरी हटाउन ठेक्कावालालाई पत्राचार गरिसकेको र हट्ने प्रक्रियामा रहेको भनिए पनि पुनः माछापालन थालिएको छ ।

“क्रिकेट खेल मैदान पर्ने ठाउँका दुई वटा पोखरी पुरिसकेका छन”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “अरु पनि पुर्ने प्रक्रियामा छन् ।” खेलकूद विकास समितिले जग्गा भाडामा लिएर सटर बनाउनेबाट धरौटीस्वरुप रु ४० हजार प्रतिसटर र केही रकम सहयोगसमेत लिएको छ । हाल समितिसित रु ८४ लाख रकम मौज्दात रहेको समितिले जनाएको छ ।

समितिमा आउने पदाधिकारीले आफ्नो चाहनाअनुसार गुरुयोजना मिच्दै आउँदा समितिको जग्गामा दुरुपयोग बढेको छ । “पन्ध्र बिघा जग्गामा हरेक खेलका संरचना बन्नसक्छन्”, एक प्रशिक्षकले भन्नुभयो, “तर पदाधिकारीले आआफ्नै चाहनामा तीन÷चार पटक गुरुयोजना मिच्ने काम भयो ।”

त्यसैगरी यातायात कार्यालयलाई ट्रायल सेन्टरका लागि कवर्डहलको उत्तर पश्चिममा दिइएको जग्गा खाली गराउन खेलकूदले पत्राचार गरे पनि अझै खाली भएको छैन । “हामीले एउटै मैदानमा हक्कीदेखि क्रिकेटसम्म खेल्नुपर्ने बाध्यता छ”, एक खेलाडीले भन्नुभयो, “जग्गामा मनोमानी हुँदा पनि समितिमा बोल्ने कोही छैन ।”

विसं २०४२ मा सञ्चालनमा आएको यहाँको कवर्डहलको भवन जीर्ण बन्दैछ । पछिल्ला वर्षहरुमा यहाँका खेल प्रशिक्षक तथा खेल सङ्घका पदाधिकारीको जोडबलमा बक्सिङ, कराँते र कवड्डीलगायतका खेलका भवन निर्माण भएका छन् ।

जिल्ला खेलकूद विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेजी लीलाध्वज बस्नेतले खेलकूदको गुरुयोजनाअनुसार संरचना निर्माण हुनुपर्नेमा जोड दिनुभयो । “हामीसित काठमाडौँको जस्तै रङ्गशाला बनाउन जग्गा पुग्छ”, उहाँले भन्नुभयो, “सबै खेल पदाधिकारी, स्थानीय तह मिलेर खेलकूदको विषय छलफलबाट टुङ्गो लगाउँदा उचित हुन्छ ।” उहाँले गुरुयोजनाका बारेमा काम नगरेर आम्दानीको मात्रै अर्थ नहुने बताउनुभयो ।

जिल्ला क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र चन्दले क्रिकेट मैदान निर्माण थालिएको बताउनुभयो । “क्रिकेट सङ्घको मातहत रहने गरी मैदान बन्न लागेको हो”, उहाँले भन्नुभयो, “खेलकूद संरचना बन्नुपर्ने ठाउँमा सटर बनाएर व्यापार गर्ने काम राम्रो पनि होइन ।”