८ बैशाख २०८१, शनिबार

आहा रारा गोल्डकप : मनाङ मस्र्याङदी सेमिफाइनलमा


मनाङ मस्र्याङदी

कास्की, २६ फागुन । मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार झापा–११ फुटबल क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता लियो । मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिबक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो । खेलमा विष्टको एक मात्र गोल नै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरियो । सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ ।

खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा झापाका सुनिल खड्काको शक्तिशाली प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले मुस्किलले पञ्च गरेर बाहिर फाल्नुभएको थियो ।

नियमित समयको अन्तिम मिनेटमा मनाङका फरवार्ड विमल रानाले ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न असफल हुनुभयो । खेलमा निर्णायक गोलकर्ता मनाङका विष्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो । खेलपछिको पत्रकार सम्मेलनमा पराजित टोलीका प्रशिक्षक सन्तोष गुरुङले टोलीका सरोज कार्की, अङ्कुर तामाङ र प्रमोद चौधरी घाइते भएकाले प्रदर्शनमा असर पुगे पनि समग्रमा खेल राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले खेलमा जित हात पारे पनि खेलाडीको खेलबाट आफू सन्तुष्ट हुन नसकेको बताउनुभयो । धरानमा खेलेको पाँच दिनपछि पोखरामा खेल्न आएकाले खेलाडीलाई अभ्यास नहुँदा प्रदर्शन सोचेअनुसार नभएको उहाँको भनाइ थियो । प्रतियोगिताअन्तर्गत सोमबार थ्रीस्टार क्लब र गान्टोक सिटी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको २०० औँ खेल पूरा

विसं २०५८ फागुन ७ गते क्याराभान गोल्डकपका नामबाट सहारा क्लबले प्रतियोगिता आयोजना शुरुआत गरेकामा मनाङ र झापाबीचको खेल २००औँ बन्न पुगेको छ । क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिता त्यसपछिका हरेक संस्करणलाई यहाँको औद्योगिक घराना हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । विसं २०५९ देखि प्रतियोगिता आहा राराको नामबाट सञ्चालन हुँदै आएको हो ।

यस प्रतियोगिता मोफसलको एक प्रतिष्ठित र नियमित सञ्चालन हुने प्रतियोगिताका रूपमा स्थापित भएको छ । क्लबले २००औँ खेलका अवसरमा खेलाडीलाई मायाको चिनो तथा मैदानमा बेलुन उडाएर खुशीयाली मनाएको थियो । प्रतियोगिताबाट बचत रकम क्लबले पोखरा–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित सहारा फुटबल एकेडेमीका बालकका लागि खर्च गर्दैै आएको अध्यक्ष केशवबहादुर थापाले जानकारीदिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !