७ बैशाख २०८१, शुक्रबार

होङ्गवान्जी न्यू डाइमण्ड कप भलिबल : पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा


महिला भलिबल

काठमाडौँ, २५ पुस । नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० सेटले पराजित गरेको हो ।

पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० अङ्कको जित निकाल्यो । यस्तै डायमण्डले पनि ढोरपाटन क्लबलाई २५–५, २५–१२ र २५–११ अङ्कले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । पुलिस र डायमण्डबीचको आज हुने खेलले समूह ‘बी’ को विजेताको टुङ्गो लाग्ने छ । यस्तै बिहीबार समूह ए मा रहेको त्रिभुवन आर्मी क्लब र पोखरा टप्स माविबीच भएको खेलमा आर्मी ३–० सेटले विजयी भयो । आर्मीले पोखरा टप्सलाई २५–१३, २५–१६ र २५–७ अङ्कले हरायो । आर्मी र एपीएफबीचको खेल भने वर्षाका कारण हुन सकेन् ।

पुलिस क्लब र न्यू डायमन्डबीच तथा पारामाउण्ट र एपीएफ क्लबबीच आज खेल हुने आयोजक संस्थाले जनाएको छ । अर्को खेल आर्मी र पारामाउण्टबीच हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा एपीएफ, पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउन्ड तथा समूह ‘बी’मा आयोजक न्यू डायमण्ड, ढोरपाटन क्लब र नेपाल पुलिस क्लब छन् । विजेता टोलीले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !