७ बैशाख २०८१, शुक्रबार

खेलाडी मनोनयन सार्वजनिक


Nepalpatra

काठमाडौँ, १० असार । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयनमा पर्नुभएका व्यक्तिको नाम आज सार्वजनिक गरेको छ ।

हरेक वर्ष प्रदान गरिँदै आएको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यस वर्ष क्रिकेटका पाँच खेलाडी, फुटबलका तीन तथा भलिबल, प्याराग्लाइडिङ, एथ्लेटिक्स र जुडोका दुई÷दुई जना मनोनयनमा परेका छन् । ब्याडमिन्टन, कराते, गल्फ र तेक्वान्दोबाट एक÷एक खेलाडी मनोनयनमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ मनोनयनमा परेका छन् ।

मञ्चको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट महिला खेलाडी विधातर्फ फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ मनोनयमा परेका छन् । वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

यस्तै प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा, प्याराग्लाइडिङका योगश भट्टराई, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । मञ्चले पिपुल्स च्वाईस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेको छ । सो विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् ।

विभिन्न १० विधामा प्रदान गरिने उक्त अवार्डअन्तर्गत पारा एथ्लेटिक्स, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने कार्यक्रम कै दिन घोषणा गरिने आयोजक मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष र महिला, पिपुल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही रु ५० हजार पुरस्कार पाउने छन् । उक्त अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते हुँदैछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !