४ बैशाख २०८१, मंगलबार

हामीसँग जोशले भरिएको युवा टोली छ


नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि आइतबार मलेसियाको यु-२२ टोलीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । मलेसियाको राष्ट्रय टोलीसँगै मैत्रिपूर्ण खेल हुने भनिएपनि राष्ट्रिय टोलीसँगको खेल भने आगामी मे महिनामा सरेको छ ।

जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ । यसअर्थमा उनका लागि नेपाली टोलीबाट पहिलो परीक्षा हुनेछ । मलेसियाको यु-२२ बिरुद्धको मैत्रिपूर्ण खेलको तयारी र योजनाबारे टोलीका कप्तान बिराज महर्जनलाई पाँच प्रश्नः

नयाँ प्रशिक्षकको नियुक्तिपछि हामीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछौं । तयारी कस्तो छ ?

हामीले उत्कृष्ट तयारी गरेका छौं । यसअघिका प्रशिक्षक प्याटि्रकको सट्टामा नयाँ प्रशिक्षक कोजी आउनुभएको छ । करिव दुई साताको तयारीमा उहाँले हामीलाई आधुनिक फुटबलका बेसिक कुराहरु सिकाइरहनुभएको छ ।

यसअघि लगातार तीनजना पश्चिमा प्रशिक्षकले नेपालको टोली हेरेका थिए । पश्चिमा र जापानी प्रशिक्षकहरुबीचको फरक के पाउनुभयो ?

आधुनिक फुटबल जापान, युरोप, अमेरिका जहाँ भएपनि नियम र तरिका एउटै हुन्छ । फुटबलको बेसिक कुराहरुमा हामीले उहाँहरुबाट फरक पाएका छैनौं । तर, व्यक्तिअनुसार उनीहरुको आचरण र व्यवहार फरक-फरक हुन्छ । सबैको आआˆनै शैली हुन्छ । यसअघि ग्राहम रोवर्टस, ज्याक स्टेफानोस्की र प्याटि्रक ओजेम्स सबैसँग मैले प्रशिक्षणको मौका पाएको छु । सबैको आ-आˆनै शैली छ । हाम्रो टोलीमा टेक्निकल डाइरेक्टर पनि जापानकै हुनुहुन्छ । उहाँहरुले राम्रो गरिरहनुभएको छ ।

मलेसियाबिरुद्धको खेल नयाँ प्रशिक्षकको पहिलो परीक्षा पनि हो । तपाईको बिचारमा मलेसियाबिरुद्धको खेलमा टोलीको रणनीति कस्तो हुनुपर्छ ?

हामी यसअघि सम्पन्न बंगबन्धु गोल्डकप र १२औं सागको फुटबलतर्फको उपाधि विजेता टोली हौं । हामी त्यस्तै प्रदर्शन कायम राख्नेछौं । टोलीमा केहि नयाँ अनुहार थपिएका छन् । नयाँ अनुहार त होइन यसअघि हामीले सँगै खेलिसकेका छौं । उनीहरुसँग राम्रो समन्वय गरेर हामी नतिजा आफु अनुकुल निकाल्न प्रयासरत हुनेछौं ।

यो खेलमा हामीसँग केहि अनुभवि युवा खेलाडीहरु हुने छैनन् । सिनियर खेलाडीहरु पनि टिममा छैनन् । यसअघिकै जस्तो प्रदर्शन निरन्तर राख्न सकिएला त ?

साग र बंगबन्धु खेलेका केहि युवा खेलाडीहरु टोलीमा छैनन् । अनन्त तामाङ, अञ्जन विष्ट र विमल घर्तीमगर युरोपमा छन् भने बिक्रम लामा पनि देशबाहिर छन् । अनिल गुरुङ र रोहित पनि टोलीमा समावेश छैन ।

तर, हामीसँग जोशले भरिएको युवा टोली छ । सबै खेलाडीहरु विनिङ मेन्टालिटीमा छन् । उनीहरुमा उत्साह छ टेक्निकल्लीउत्कृष्ट प्रदर्शन गर्छन् । अनुभवको कमी भन्ने मात्रै हो । यस्तै खेलबाट अनुभव हाँसिल गरेमा ठूला प्रतियोगिताका लागि टिम बनाउन सजिलो हुन्छ ।

हाम्रो कमजोरी के के मा हो ? नयाँ प्रशिक्षक आउनुभएको छ । उहाँले कुन कुन पक्षमा सुधार गर्नुपर्ने छ ?

मोर्डन फुटबलमा सबै पक्षले उत्कृष्ट प्रदर्शन गरेर मात्र उत्कृष्ट नतिजा आउने हो । त्यसैले हामीले मैदानका सबै क्षेत्रबाट शतप्रतिशत प्रयास गर्नुपर्छ । त्यसमा पनि बिशेष गरेर हामीले डिफेन्स र मिडफिल्डमा केहि सुधार गर्नुपर्छ । यो कुराका प्रशिक्षक कोजीपनि जानकार हुनुहुन्छ । बलियो टोली बनाउने प्रयास उहाँको पनि हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !