८ बैशाख २०८१, शनिबार

आठ विधामा स्पोर्टस अवार्ड प्रदान गरिने


Nepalpatra

कास्की, २२ जेठ । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही जेठ २४ गते पोखरामा हुने प्रदेशस्तरकोे ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ मा आठ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

मञ्चले आज पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी स्पोर्टस अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र लाइफ टाइम अचिभमेन्टसहित आठ विधामा अवार्ड प्रदान गरिने मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताउनुभयो । मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्ने भएको छ ।

गुरुङले चीनमा भएको ११औँ एशियाली खेलकूद प्रतियोगितामा काश्य, तेस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकूदमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदी जडित अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

अवार्ड वितरणका लागि मञ्चले वर्ष खेलाडी पुरुष, महिला, वर्ष उदीयमान खेलाडी तथा वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधामा तीन÷तीन जनाको नाम यसअघि नै मनोनयन गरी सार्वजनिक गरिसकेको छ ।

सो अनुसार सर्वोत्कृष्ट खेलाडी पुरुषमा प्याराग्लाइडिङका युकेश गुरुङ, रुपक नेपाली (फुल कन्ट्याक्ट कराते) र स्क्वासका अमृत थापा मनोनयनमा हुनुहुन्छ ।

सर्वोत्कृष्ट खेलाडी महिलामा फुल कन्ट्याक्ट करातेका सुमी श्रेष्ठ, प्रीति बराल सफ्ट टेनिस र सुटिङका श्रेया केसी हुनुहुन्छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, आइटिएफ तेक्वान्दोका सुस्मिता थापामगर र आर्चरीका अनुस्का शेरचन हुनुहुन्छ । वर्ष उत्कृष्ट प्रशिक्षक विधामा फुल कन्ट्याक्ट करातेका दीपक गोदार, ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा पर्नुभएको छ ।

खेलाडीको गत वर्षको प्रदर्शन र प्राप्त अचिभमेन्टलाई आधार मानेर मनोनयन गरिएको बताइन्छ । निर्णायक कमिटी र भोटिङका आधारमा अवार्डका लागि खेलाडी छनोट गरी अवार्ड प्रदान गर्ने हेतुले आफूले चाहेको खेलाडीलाई एसएमएस भोटिङ गर्न सकिने व्यवस्था गरिएको मञ्चका उपाध्यक्ष रञ्जन अधिकारीले बताउनुभयो । सर्र्वोत्कृष्ट पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्वोत्कृट महिला विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस बिगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्चले जनाएको छ ।

वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५÷२५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ । मञ्चले उत्कृष्ट खेल सङ्घलाई नगद १५ हजारसहित ट्रफी तथा उत्कृष्ट खेल पत्रकारिता पुरस्कार रु २० हजार दोसल्ला तथा ताम्रपत्रबाट एक जना खेल पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । अवार्ड कार्यक्रम सफलताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख, पोखरा महानगरपालिकाले रु एक लाख ५० हजार तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरेको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !