१२ बैशाख २०८१, बुधबार

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत


Nepalpatra

९ वैशाख, काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।

राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल पुलिस र एपिएफले दुई÷दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।

पुरुष ६३ केजीमुनिमा नेपाल पुलिसका वीरबहादर महराले स्वर्ण, नेपाली सेनाका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादव र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन् । त्यसैगरी पुरुषकै ७४ केजी तौलमुनि नेपाली सेनाका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चलमान श्रेष्ठ र प्रदेश १ का नेत्रबहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।

पुरुष ८७ केजी तौल नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदूरपश्चिम प्रदेशका ओमजङ्ग सिंह र प्रदेश २ का अमितकुमार सिंहले कास्य पदक जितेका छन् । त्यस्तै पुरुषकै ८० केजी तौल समूह मुनि नेपाली सेनाका सक्षम कार्कीले स्वर्ण, नेपाल पुलिसका किरण सितेकु र प्रदेश ३ का विष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन् ।

महिलातर्फ ५७ केजी तौल समूहमुनि एपिएफकी गीता विष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३ की सुस्मिता मोक्तान र प्रदेश २ की शुभेक्षा राईले कास्य पदक जितेका छन् । महिलाकै ६२ केजी तौलमुनि एपिएफकी सङ्गीता बस्यालले स्वर्ण, प्रदेश २ की शिवानी श्रेष्ठले रजत र नेपाली सेनाकी मुस्कान कार्की र नेपाल पुलिसकी कञ्चन थापाले कास्य पदक जितेका छन् ।

त्यसैगरी ६७ केजी मुनितर्फ नेपाली सेनाकी नम्रता तुलाधरले स्वर्ण, पुलिसकी सीता तामाङले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गर्बुजाले कास्य पदक प्राप्त गरेका छन् । महिलाकै ७३ केजी तौलमुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्कीले रजत र कर्णाली प्रदेशकी इला केसी एवम् नेपाली सेनाकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेका छन् ।

करातेतर्फ आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको तुलसीपुरमा जारी कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपिएफकी जीया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुसुम खड्काले रजत जित्दा प्रदेश नं २ की मीरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पार्न सफल भएका छन् ।

त्यस्तै ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । एपिएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिसा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश नं ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात जितेका छन् ।

प्रतियोगिताअन्तर्गत हालसम्म १८ वटा खेलहरु टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लनटेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन र आर्चरीका खेलहरु सम्पन्न भइसेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये अब १७ वटा खेलको नजिता आउन बाँकी रहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !