७ बैशाख २०८१, शुक्रबार

‘बी’ डिभिजन लिग : चार क्लब अन्तिम चारमा


फुटबल

१३ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको शहीद स्मारक ‘बी’ डिभिजन लिगको पहिलो चरणका खेल आजदेखि सकिएका छन् ।

पहिलो चरणको खेलपछि समूह ‘ए’बाट दुई र समूह ‘बी’बाट दूई गरी कूल चार क्लब अन्तिम चरणमा छनोट भएका छन् । आज एन्फा मैदानमा भएको खेलमा नयाँवस्ती युवा क्लबलाई ३–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब समूह ‘ए’ को विजेता बन्दै अर्को चरणमा पुगेको छ । समूह ‘ए’ मा सातदोबाटोले ११ अङ्क जोड्दा आरसिटी आठ अङ्कसहित दोस्रो हुँदै अर्को चरण पुगेको छ ।

सातदोबाटोका लागि निरज महर्जन, विमल केसी, रमेश कुमार राजवंशीले गोल गरे । नयाँबस्तीका लागि साजन राईले गोल गरेका थिए । आजै भएको अर्को खेलमा खुमलटारले बाँसबारीलाई २–१ ले पराजित ग¥यो । समूह ‘बी’बाट टुसाल ११ अङ्कसहित पहिलो र श्री भगवती १० अङ्क जोडेर दोस्रो हुँदै अन्तिम चरणमा पुगेका छन् ।

अब अन्तिम चरणमा चार क्लबबीच लिग खेल हुनेछ । जसमा प्रत्येक क्लबले तीन खेल खेल्नेछन् । यसबाट धेरै अङ्क जोड्ने क्लब च्याम्पियन बन्नेछ । पहिलो चरणको अङ्क अन्तिम चरणमा नजोडिने एन्फाले जनाएको छ । बाह्र ‘बी’ क्लबे सहभागिता नजनाएको उक्त प्रतियोगितामा समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

यस्तै समुह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् । लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।

लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बि’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो । ‘ए’ डिभिजन लिगसमेत रेलिगेशन बिनाको गरेको एन्फाले ‘बि’ डिभिजन पनि रेलिगेशनबिनाकै गर्न लागेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !