७ बैशाख २०८१, शुक्रबार

डिपिएल : महेन्द्रनगर क्वालिफायर्समा प्रवेश


dpl

९ फागुन, धनगढी । महेन्द्रनगर युनाइटेड यहाँ जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ ।

शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर आज भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई एक रनले हराएको हो । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ ।

शुक्रबार हुने खेलको विजेताले शनिबार हुने फाइनलमा सिवाइसी अत्तरियाको सामना गर्नेछ । आजको पराजयसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

खराब शुरुआत गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौँ विकेटका लागि अमर सिंह रौटेलासंँग मिलेर ४९ रनको साझेदारी गर्न सफल भए । अमर १९ रनमा आउट भए ।

यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११÷११ रनमा आउट भए । रुपन्देहीका ललित भण्डारी एक्लैले चार विकेट लिए । यस्तै पुनित मेहेराले तीन तथा कप्तान वसन्त रेग्मीले एक विकेट लिए ।

महेन्द्रनगरले दिएको ११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरमा रुपन्देहीलाई जीतका लागि पाँच रनको आवश्यकता रहेको थियो । तर महेन्द्रनगरका अविनाश बोहोराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जीत दिलाए । अविनाशले अन्तिम ओभरमा एक रन दिएर तीन विकेट लिए ।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८÷२८ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन् । यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए । सुमित महर्जन १० रनमा आउट भए । महेन्द्रनगरका अविनाश बोहराले दुई विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले एक–एक विकेट लिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !