११ बैशाख २०८१, मंगलबार

खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ : मन्त्री विश्वकर्मा


१६ माघ, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्ता दिन सके खेलाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

खेलकूदका माध्यमबाट विद्यार्थीमा बौद्धिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बालबालिकामा चाहनाअनुसारको खेलमा समयदेखि नै उचित लगानी गर्न सके प्रतिफल राम्रो आउने उल्लेख गर्नुभयो ।

नेपाली क्रिकेटले हासिल गरेको पछिल्लो उपलब्धिको प्रशंसा गर्दै उहाँले मुलुकलाई संसारमा चिनाउने एकमात्र माध्यम खेलकूद भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्मा, प्रा डा श्रीप्रसाद कोइराला, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले महोत्सवको शुभकामना व्यक्त गर्नुभयो ।

खेलकूद महोत्सवअन्तर्गत विद्यालयले तीनदिनसम्म फुटबल, क्रिकेट, खोखो, एथलेटिक्सलगायतका खेल सञ्चालन गर्ने विद्यालयका शिक्षक तुलसी घिमिरेले जानकारी दिनुभयो । विद्यार्थीको मानसिक, शारीरिकका साथै बौद्धिक विकास गर्ने उद्देश्यले खेलकूद महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

कक्षाकोठाको सीमित ज्ञानले मात्र विद्यार्थीको बौद्धिक स्तर वृद्धि नहुने भएकाले विद्यार्थीको रुचिअनुसारको ज्ञान दिन खेलकूदका गतिविधि गर्न लागिएको विद्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !