अल्ट्रा म्याराथन माघ १६ मा

२९ पुस, दमौली । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र शहीदको गाउँ पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा १५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा ३० जिल्लाका १४४ धावकको सहभागिता रहेको थियो । जसमध्ये १२३ धावक अन्तिम बिन्दुसम्म पुगेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ८० हजार, दोस्रो हुनेलाई नगद रु ६० हजार, तेस्रो हुनेलाई नगद रु ५० हजार र सान्त्वना हुने पाँच जनालाई रु पन्ध्र/पन्ध्र हजार प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि नगर प्रमुख न्यौपानेको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति, व्यास नगरपालिका–५ वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र व्यास नगरपालिका–८ का वडाध्यक्ष ओजराज पौडेलको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि रु १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले मानहुँ र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मानहुँमा यसै वर्ष रु ३० लाखको लागतमा भ्युटावर निर्माण गरिनेछ भने पुलिमराङमा शहीद पार्क निर्माणको थालनी गरिनेछ । (रासस)