१२ बैशाख २०८१, बुधबार

खेलमैदान निर्माण शुरु


baitadi

१६ मङ्सिर, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो ।

दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उहाँले बताउनुभयो ।

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिनुभएको छ । सुविधासम्पन्न उक्त खेलमैदान रु एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।”

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !