११ बैशाख २०८१, मंगलबार

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत


foodball

७ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ ।

ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, काजुदीन आदुनी र काजीम आदीबोकेले गोल गरे । खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पहिलो अग्रता भने एपिपएफले लिएको थियो ।

खेलको दोस्रो हाफको ६० औँ मिनेटमा एपिएफले रूपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो ।

लामाले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै ब्रिगेड ब्वाइजका मनोजले एक गोल फर्काएर खेललाई बराबरीको स्थितिमा ल्याए । उनले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

त्यस्तै खेलको ६९ औँ मिनेटमा ब्रिगेड ब्वाइजका अर्का खेलाडी काजुदीनले एक गोल थप्दै आफ्नो टिमको अग्रतालाई दोब्बर बनाए । उनले ६ यार्डबाट गोल गरेका थिए । त्यस्तै खेलको ७५ औँ मिनेटमा ब्रिगेड ब्वाइजकै काजिमले गोल गरेर जीत सुनिश्चित गरे ।

खेलको ८९ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित बनेको थियो । एपिएफका खेलाडी विश्वास उदासले फल्ट गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । पराजित एपिएफको अङ्क तालीकामा ४ अङ्क छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !