८ बैशाख २०८१, शनिबार

नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक


icc

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को प्रतिबन्ध हटाउन अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) सकारात्मक रहेको आईसीसीका प्रतिनिधिहरुले बताएका छन् । क्यान विवादबारे अनुगमन गर्न आईसीसीको एक टोलीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशबकुमार बिष्टसँगको भेटमा प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक रहेको बताएको हो ।

सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद तालिम तथा प्रशिक्षण केन्द्रमा आईसीसीका कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आईसीसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेखको टोलीले सदस्यसचिव बिष्टसँग तीन घण्टा लामो भेटबार्ता गरेका थिए । त्यस भेटमा आईसीसीको टोलीले नेपाली क्रिकेटबारे आईसीसी सकारात्मक रहेको उल्लेख गर्दै क्यानमा लागेको प्रतिबन्ध चाडै हटाउन सकिने बताएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

“सदस्य सचिवसँगको भेटमा आईसीसीको टोली निकै सकारात्मक रहेका पाइयो, छलफलमा उहाहरु सकारात्मक थिए,” राखेपका प्रेस सल्लाहकार दाहालले भने, “आईसीसीका टोलीले सदस्यसचिवसंगको भेटमा हामीहरु नेपालको क्रिकेटबारे प्रतिबेदन तयार गर्न आएका हौं । आईसीसीका नेपालको क्रिकेटबारे सकारात्मक छ । प्रतिबन्ध चाडै हट्ने सम्भावना छ, उहाहँरुले भन्नु भएको छ ।” त्यस्तै आईसीसीका प्रतिनिधिसँगको भेटमा सदस्यसचिव बिष्टले नेपालको क्रिकेट विकासमा नेपाल सक्षम रहेको र आईसीसीको प्रतिबन्ध चाडै हट्नेमा आशावादी भएको बताएको सल्लाहकार दाहालले जानकारी दिए ।

यसअघि मंगलबार मात्रै आईसीसीको तीन सदस्यीय टोलीले क्यानको पूर्व अध्यक्षहरु विनय राज पाण्डे र टंक आङबुहाङसँग छुट्टाछुट्टै भेट गरेका थिए । अब आईसीसीको टोलीले युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, पूर्व तथा वर्तमान राष्ट्रिय टिमका कप्तान तथा खेलाडीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छन् ।

क्यानमा अन्तरिक कलह र राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई गत वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसपछि गत महिना स्कटल्यान्डको इडिनबर्गमा भएको आईसीसीको वार्षिक बैठकले नेपालमाथि लगाएको प्रतिबन्धलाई सदर गरेको थियो । र, नेपाली क्रिकेट अघि बढाउने बिषयमा आफ्नो एक प्रतिनिधी टोली नेपाल पठाउने निर्णय गरेको थियो । त्यहिअनुरुप आईसीसीका एक टोली नेपाल आएका हुन् । तर, नेपाली क्रिकेट विवादबारे बुझ्न नेपाल भ्रमण तय गरेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डेविड रिचर्डसन र आईसीसीका एसोसिएट प्रतिनिधि इमरान ख्वजा भने नेपालमा राजनीतिक स्थिति परिवर्तन भएकोले भ्रमण स्थगित गरेको थिए ।

क्यानलाई प्रतिबन्ध लगाएपनि आईसीसीले नेपाली क्रिकेट टिमलाई भने खेल्न अनुमति दिएको छ । नेपाली टोलीले अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ । र, नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !