११ बैशाख २०८१, मंगलबार

फुटबल एकेडेमी बनाइने


anfa

५ असोज, कास्की । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छ«े गाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ«े तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताउनुभयो ।

लगभग रु १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

निरीक्षण गर्दा दुवै जग्गा उपयुक्त देखिएको बताउँदै उहाँले भेडाबारीमै बनाउन सकिने भए पनि त्यसको अन्तिम निर्णय प्राविधिक समितिको प्रतिवेदनपछि मात्र गरिने उल्लेख गर्नुभयो ।

करीब पाँचसय रोपनी जग्गा गाउँपालिकाले नापजाँच गरेर पठाएपछि एन्फाले प्राविधिक टोली अध्ययनका लागि लागि पठाउने र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइने अध्यक्ष शेर्पाले भनाइ थियो ।

तल्लो तहबाटै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले सातै प्रदेशमा एकेडेमी निर्माण गरेर फुटबल खेलको विकास गर्ने लक्ष लिएको जानकारी दिँदै उहाँले आगामी वर्षबाट गण्डकी प्रदेश र प्रदेश नं ५ मा एकेडेमी निर्माणको काम शुरु हुने जानकारी दिनुभयो । पोखराबाट १७ किमीको दूरीस्थित भेडाबारीमा एकेडेमी बनाउन अन्यत्रभन्दा उपयुक्त भएकाले सोही स्थानलाई छनोट गरिनुपर्ने स्थानीयवासीको माग छ ।

माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जग्गा नापजाँचको काम भइरहेको र असोज दोस्रो हप्ताभित्रमा जग्गाको यकिन विवरणसहित एकेडेमी निर्माणका लागि एन्फालाई पत्राचार गरिने जानकारी दिनुभयो । “भेडाबारीे एकेडेमीका लागि उपयुक्त छ, पूर्वाधार निर्माण गर्न पनि सहज छ भन्ने हाम्रो ठम्याइ हो”, उहाँले भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !