१३ बैशाख २०८१, बिहिबार

ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाई


nepali in olampic

काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक–२०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारील बिदाइ गरेकी छिन्।

राष्ट्रपति भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार खेलाडी लगायत प्रशिक्षक र पदाधिकारीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइन्। खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको पहिचान र गौरव अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यममध्ये एक भएको समेत उनले धारणा व्यक्त गरिन्।

अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभिन्न ५ खेलमा ७ खेलाडी सहभागी हुँदैछन्।

olampic nepali

एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १५ सय मिटरमा सरस्वती भट्टराई, पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा शिरीष गुरुङ र महिला १ सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। गौरिका लन्डनमा रहेकाले उनी त्यतैबाट रियो पुग्ने बताइएको छ।
त्यस्तै जुडोको महिला ६३ केजीमा फुपुल्हामु खत्री, तेक्वान्दोको महिला ६७ केजीमाथि निशा रावल तथा आर्चरीको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटर दुरीमा जितबहादुर मोक्तानले प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकतर्फ पौडीमा ईश्वरकुमार कार्की, जुडोमा देबु थापा, आर्चरीमा दीपकराज गुरुङ, एथलेटिक्समा पुष्पराज ओझा तथा तेक्वान्दोमा संगीना वैद्य रहेका छन्।

नेपाली टोलीको सेभ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्ट छन्। यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष ज्योति राणा, महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतनकुमार तण्डन, सदस्यहरु निलेन्द्रराज श्रेष्ठ, अशोकरत्न बज्राचार्य, रमेशकुमार श्रेष्ठ, समिम मियाँ अन्सारी र दीपकहर्ष बज्राचार्य तथा डा. सरोजकृष्ण श्रेष्ठ र एनओसी स्टाफ सुजनलाल श्रेष्ठ र राजन श्रेष्ठ पनि रियो ओलम्पिक टोलीमा रहेका छन्।

पौडी, आर्चरी र जुडो टोली जुलाई ३१ तारिख तथा तेक्वान्दो र एथलेटिक्स टोली अगष्ट ७ तारिखमा रियो प्रस्थान गर्नेछन्। त्यसअघि सेभ दि मिसन सदस्य–सचिव विष्ट र सुजनलाल श्रेष्ठ भने जुलाई ३० मा रियो जाँदैछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !