६ बैशाख २०८१, बिहिबार

सन्दीप लामिछानेको दुवै रिटमाथि बन्द इजलासमा सुनुवाइ सुरु


सर्वोच्च अदालत र सन्दीप लामिछाने

काठमाडौं । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा बहस सुरु भएको छ । सन्दीपका वकिल अधिवक्ता मुरारी सापकोटाले बन्द इजलास माग गरेपछि सोलाई सम्बोधन गर्दै सरोकारवाला बाहेकलाई बाहिर निकालेर बहस सुरु भएको हो ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो । लामिछानेसँग सम्वन्धित दुई रिटको आज सर्वोच्चमा न्यायाधीश मल्ल र चुडालको इजलासमा सुनुवाइ बन्द इजलासमा सुरु भएको हो ।

लामिछाने विदेश जान पाउने वा नपाउने भन्ने टुंगो आज लाग्ने भएको छ । लामिछानेले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदन र लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्ने दुवै रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुन् लागेको हो ।

यसअघि शुक्रबार सर्वोच्चले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको थिएन । सर्वोच्चको यो आदेशसंगै लामिछाने राष्ट्रिय टिममा रहेर यूएइ भ्रमणमा जान पाएका थिएनन् ।

जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर खेलमा फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएतापनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएपछि उनी सर्वोच्च अदालत गएका थिए ।

यो पनि पढ्नुहोस्

सन्दीपको रिट सपना मल्ल र कुमार चुडालको इजलासमा

सन्दिपलाई सर्वोच्चले दिएन विदेश भ्रमणमा जाने अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !