७ बैशाख २०८१, शुक्रबार

सन्दीप लामिछाने विदेश जान पाउने वा नपाउने टुंगो आज लाग्दै


सर्वोच्च अदालत र सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विदेश जान पाउने वा नपाउने भन्ने टुंगो आज लाग्दै छ । लामिछानेसँग सम्वन्धित दुवै रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

लामिछानेले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदन र लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्ने दुवै रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुन् लागेको हो ।

यसअघि शुक्रबार सर्वोच्चले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको थिएन । सर्वोच्चको यो आदेशसंगै लामिछाने राष्ट्रिय टिममा रहेर यूएइ भ्रमणमा जान पाएका थिएनन् ।

क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सर्वोच्चमा लामिछानेले दायर गरेको मुद्दाको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश खतिवडाको इजलासले अर्को मुद्दालाई पनि साथमा राखेर आज आइतबार नै पेश गर्न आदेश पनि दिएको थियो ।

उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि उनले सर्वोच्चमा निवेदन दिएका थिए । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा रहेका लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर खेलमा फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएतापनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएपछि उनी सर्वोच्च अदालत गएका थिए ।

लामिछानेलाई धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्चमा सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्ने छ । सुनुवाईका लागि अग्राधिकारसमेत प्रदान गरी आज संयुक्त इजलासमा पेस गर्न आदेश दिइएको हो ।

यो पनि पढ्नुहोस्

सन्दिपलाई सर्वोच्चले दिएन विदेश भ्रमणमा जाने अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !