१३ बैशाख २०८१, बिहिबार

सन्दिपलाई सर्वोच्चले दिएन विदेश भ्रमणमा जाने अनुमति


सन्दीप लामिछाने

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । सर्वोच्चको यो आदेशसंगै लामिछाने राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् ।

क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सर्वोच्चमा लामिछानेले हिजो दायर गरेको मुद्दाको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो ।

सर्वोच्चको यो आदेशसंगै भोलि यूएईमा गएर क्रिकेट खेल्ने उनको सपना चकनाचुर भएको छ । सर्वोच्चका न्यायाधीश खतिवडाको इजलासले अर्को मुद्दालाई पनि साथमा राखेर पर्सि आइतबार नै पेश गर्न आदेश पनि दिएको छ ।

उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि उनले हिजो निवेदन दिएका थिए । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा रहेका लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका लामिछानेलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर खेलमा फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएतापनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएपछि उनी सर्वोच्च अदालत गएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !