१२ बैशाख २०८१, बुधबार

आइसिसी क्रिकेट लिग–२ : स्कटल्यान्डले नामिबियालाई हरायो


स्कटल्यान्डले नामिबियालाई हरायो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव चार ओभरमा १७८ रनमै समेटियो ।

नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक ५२ रनको योगदान दिए भने कप्तान जेरार्ड इरस्मसले ४३ रन जोडे । त्यस्तै जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १०/१० रन जोडे ।

स्कटल्यान्डका लागि मार्क वाटले चार, माइकल लिस्कले तीन, ब्रेन्डन म्याकमुलनले दुई तथा क्रिस ग्रेभेसले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले पाँच विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले दुई विकेट लिए । तेस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक एक विकेट झारे ।

यस सिरिजमा नामिबिया चारै खेलमा पराजित भएको छ । यसअघि नामिबिया नेपालसँग दुई विकेट र तीन विकेट तथा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।

नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । लिग दुईको च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलबाट ५० अङ्कका साथ शीर्ष स्थानमा छ । यस शृङ्खलाको अन्तिम खेल भोलि नेपाल र स्कटल्यान्डबीच हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !