७ बैशाख २०८१, शुक्रबार

सन्दीप नेपाल नफर्किएपछि इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी


सन्दीप लामिछाने

काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल नफर्किएपछि इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी गरिएको छ ।

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया सुरू गरेको छ । लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी तीव्र पारेको हो ।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन पुगिसकेको छ । अदालतले गत भदौ २३ गते उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछाने प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) को सम्पर्कमा नरहेको बताइएको छ ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै नेपाल आइपुगेका छैनन् ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !