८ बैशाख २०८१, शनिबार

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गर्ने बाटो खुल्यो


सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी हुने भएको छ । लामिछानेविरुद्ध पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएसंगै अब प्रहरीले लामिछानेलाई पक्राउ गर्ने बाटो खुलेको छ । अव उनलाई प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानुनी उपचारमा सहयोग गर्न गुहारेका छन् । जबरजस्ती करणीको आरोपलाई अस्वीकार गर्दै उनले क्यानलाई कानुनी सहायताका लागि गुहारेका हुन् ।

सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द हिजो बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीसंग छलफल गरेका थिए । लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा क्यानले तत्काल केही छानबिन नगर्ने बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताएका छन् । चन्दले कानुनी रुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताएका हुन् ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !