६ बैशाख २०८१, बिहिबार

टि २० विश्वकप : पाकिस्तानको न्युजिल्यान्डमाथि सानदार जित


पाकिस्तान क्रिकेट टीम

काठमाडौं । युएईमा जारी टि २० विश्वकप २०२१ मा पाकिस्तानले न्युजिल्यान्डमाथि सानदार जित हासिल गरेको छ । सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को गएराति भएको खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो ।

यो जितसँगै पाकिस्‍तान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

न्यूजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पूरा गर्‍यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे । न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

यसअघि शारजाह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । न्यूजिल्यान्डका डेभन कन्वेले सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो । सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने श्रीलंका पनि १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ । १ खेलमा २ अंकका साथ अष्ट्रेलिया तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा रहेको छ ।

पाकिस्तानले अव शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्यान्डले आइतबार भारतसँग खेल्नेछ । भारत र न्युजिल्यान्डबीचको खेल दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !