४ बैशाख २०८१, मंगलबार

किन राजीनामा दिन बाध्य हुन्छन् फुटबल र क्रिकेट टिमका मुख्य प्रशिक्षकहरु ?


डेभ वाट्मोर र अब्दुल्ला अल्मुताइरी

काठमाडौँ । भनिन्छ – ‘जहाँ पुग्दैन रवी, त्यहाँ पुग्छ कवि’ । तर नेपालमा जहाँ पुग्दैन कवि पनि, त्यहाँ पुग्छ अनुभवी । यहाँ अनुभवी भन्नुको मतलब राजनीतिक दलका नेताहरुसँग समधुर सम्वन्ध भएको मानिस । व्यक्तिको सीप, अनुभव र विशेषज्ञताको आधारमा सम्वन्धित निकायमा संवैधानिक र राजनीतिक नियुक्ति हुनुपर्नेमा सत्ताको नजिक भएका आफ्ना आसेपासेले मात्र अवसर पाउँदा देशमा बिकृति र विसंगति बढेको छ ।

देशको लागि केही गर्न खोज्ने स्वच्छ छवीका देशभक्त सरकारी कर्मचारी होस् या राजनीतिक दलका त्यस्ता देशभक्त नेताहरुले यहाँ आफ्नो क्षमता र योग्यताको आधारमा नेतृत्वमा पुग्ने सक्ने स्थिति छ यहाँ । खासमा देशमा दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा ल्याउन नसकेकोले केही गर्न खोज्नेहरु त्यत्तिकै निराश हुन् बाध्य बनाइन्छ यहाँ हाम्रो देश नेपालमा ।

यहाँ असल चिताउनेको कहिल्यै भलो कहिल्यै हुदैन । विवश भएर राजीनामा दिन बाध्य हुनुपर्छ भने कहिलेकाँही भीमसेन थापाको जस्तो आत्याहत्या गर्न बाध्य बनाइन्छ यहाँ । नेपालमा चाहे कर्मचारीतन्त्र होस् या न्यायालय जुनसुकै क्षेत्रमा राजनीतिवाट अछुतो छैन ।

फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको राजीनामा चर्चा

अव बिषय प्रवेश गरौ – नेपालको खेलकुद क्षेत्र । पहिला चर्चा गरौ – नेपालको फुटबल क्षेत्रमा भएका बिकृति र बिसंगतिको बारेमा । कुरा गत श्रावण १० गते आइतबारको हो । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको संकेत गरेका थिए ।

अल्मुताइरीले सामाजिक संजाल फेसबुकमा त्यो समय यस्तो लेखेका थिए, ‘प्रिय नेपाली समर्थकहरू म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ ?’ यो उनको स्टाट्सले नेपाली फुटबलका फ्यानहरुलाई निराशा मात्र पारेन् उनीहरु आक्रोशित हुँदै सामाजिक संजाल नेम्वाङबिरुद्ध खनिए ।

कुवेतका नागरिक अब्दुल्लाह अल्मुताइरी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नेपाल भित्रिएको २ महिनामा नै नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी र सिनियर खेलाडीलाई हटाउँदै नयाँ तथा युवा जोशिला खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिएर एकाएक सामाजिक सञ्जालमा चर्चाको शिखरमा पुगेका पात्र हुन् – प्रशिक्षक अल्मुइतारी ।

प्रशिक्षक भएर नेपाल आएपछि अल्मुइतारीले भनेका थिए,‘मलाई समय र काम गर्नै वातावरण दिनुस्,म नेपाली फुटबललाई परिवर्तन गरेर देखाउँछु ।’‘ थ्री नेसन्स कपको प्रदर्शनले तपाईं सन्तुष्ट हुनुहुन्छ होला, म छैन । अब नेपालले अझै राम्रो फुटबल खेल्नुपर्छ,’ मुख्य प्रशिक्षक नियुक्त भएपछि उनले भनेका थिए, ‘अब नेपालले डिफेन्सिभ होइन, आक्रामक खेल्नुपर्छ।’

साच्चै नै उनले नेपाली फुटबललाई माथि उठाउन दृढ संकल्पका साथ अघि बढ्ने रणनीति अपनाएका थिए । उनको रणनीति अनुसार नेपालले केही केही हदसम्म राम्रै परिणाम ल्याउन सफल भयो । तर मुख्य प्रशिक्षक अल्मुइतारी र एन्फाका उपाध्यक्ष नेम्वाङबीचको विवादले नेपालको खेलकुद नै तरंगित हुनपुग्यो ।

अलुमताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद बाहिर आएकोले जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

विवाद समाधानका लागि पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित छानबिन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन नै बुझाएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको थियो ।

राखेपलाई भाद्र ९ गते बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सिर्जना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको थियो ।

छानबिन समितिले अलमुताइरीले राजीनामा सम्बन्धी लेखेको पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन निर्देशन दिनुका साथै समितिले उनलाई एन्फाका पदाधिकारीसँगको कुनै कुरामा धारणा नराख्न पनि सुझाएको थियो ।

तर मुख्य प्रशिक्षक अलमुताइरीले बुधबार नै प्रशिक्षक पदवाट बाहिरिने संकेत गरेका थिए । उनले बुधबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रशिक्षक पद छाड्ने संकेत गरेका थिए ।

फुटबल विवादका बारेमा छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएसँगै अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका थिए । उनले लेखेका थिए, “म बाहिरिएँ, अब राजनीतिलाई काम गर्न देऊ ।” भनेपछि केही गर्न खोज्ने प्रशिक्षकलाई राजनीतिक नियुक्ति पाएर आएका एन्फाका पदाधिकारीले कतिसम्म खेलकुदमा राजनीति गर्दा रहेछन् भनेर प्रष्ट थाहा हुन्छ ।

क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरको राजीनामा प्रसंग

अव दोस्रो चर्चा गरौ – नेपालको क्रिकेट क्षेत्रको । हिजो मात्र नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका थिए । उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका हुन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका वाट्मोरले हिजै शुक्रबार राजीनामा दिएका थिए । उनले इमेलमार्फत नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसंग एक वर्षको सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।

सेप्टेम्बरमा हुने ओमन सिरिजपछि लागू हुने गरी प्रशिक्षकको भूमिकाबाट उनले राजीनामा दिएको नेपाल क्रिकेट संघले जनाएको छ । संघले ह्वाटमोरले निजी कारणले राजीनामा दिएको जनाएको छ ।

श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावे लगायतका देशमा प्रशिक्षण सम्हालेका ह्वाटमोरले गत डिसेम्बरमा नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले नेदरल्याण्ड्स र मलेसियासँगको त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको थियो ।

त्यसो त पछिल्लो समय राजीनामाको चर्चा नेपाली क्रिकेटका प्रशिक्षकको भन्दा पनि बढी नेपाली फुटबल प्रशिक्षकको चर्चामा रहेको छ । तर अचानक ह्वाटमोरको राजीनामाले धेरैलाई चकित बनाएको छ ।

क्यानका अनुसार उनले इमेलबाट आफ्नो ब्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको जनाएपनि क्रिकेट सम्बन्धीको वेबसाइट इएसपीएन क्रिकइन्फोले उनले कोभिड महामारीका कारण परिवार भेट्न कठिनाइ भएका कारण राजीनामा दिएको उल्लेख गरेको छ ।

उनको राजीनामाको पहिला हल्ला चलाउनेमा भारतीय मिडिया अघि देखिए । यसको कारण हो, रणजी ट्रफी । भारतीय अंग्रेजी अखबर टाइम्स अफ इण्डियाले गत मार्चमै एउटा रिपोर्टमा ह्वाटमोर रणजी ट्रफीको टिम बरोडामा अनुबन्धित हुन तयार रहेको बताएको थियो ।

त्यो समयमा बरोडा क्रिकेट बोर्डका अध्यक्ष प्रनब अमिनले आफू ह्वाटमोरसँगको सम्पर्कमै रहेको बताउँदै उनी रणजीमा फर्कन तयारी रहेको बताएका थिए । ‘ह्वाटमोरले अनुकुलतामा जोइन गर्ने भन्नुभएको छ । अर्को सिजन वहाँ हामीसँग हुनुहुनेछ,’ उनले टाइम्स अफ इण्डियासँग भनेका थिए ।

मुख्य प्रशिक्षकहरुको राजीनामाको कारण खोज्न जरुरी

पहिलो त नेपाली खेलकुदभित्र सहज वातावरण छैन, खेलकुद क्षेत्रका पदाधिकारीहरु र मुख्य प्रशिक्षकबीच केही न केही त ‘खिचडी’ अवश्य पाकिरहेको हुन्छ । जसका कारण मुख्य प्रशिक्षकले आफ्नो भूमिका सहजताका साथ निर्वाह गर्न पाईरहेका छैनन् । विदेशी मुख्य प्रशिक्षकहरु राजीनामा दिएर आफ्नै मुलुक फर्कन चाहन्छन् ।

दोस्रो मुख्य प्रशिक्षकमाथि खेलकुद क्षेत्रका पदाधिकारीहरुको अनावश्यक दबाब आइहरेको हुन्छ जसले गर्दा उनीहरु राजीनामा दिने ‘घुर्की’ लगाएर खेलकुद क्षेत्रका पदाधिकारीहरुलाई दबाबमा राख्न चाहन्छन् ।

नेपाली खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप कुन हदसम्म हुन्छ भन्ने कुरा खेलकुदमा चासो राख्नेहरुले सहजै बुझ्न अनुमान लगाउन सक्छन् । राजनीतिक हस्तक्षेप र उदासिनताकै कारण नेपाली खेलकुदको क्षेत्रमा क्षमता अनुसारको उपलव्धी हासिल गर्न सकिरहेको छैन भन्ने कुरा थाहा भएकै कुरा हो ।

बिदेशमा खेलकुदमा राजनीति घुसेको हुँदैन । विदेशका खेलाडी र मुख्य प्रशिक्षकको क्षमता र योग्यताको कदर हुन्छ । उनीहरुले स्वतन्त्र रुपमा आफ्नो सोच अनुसार खेल्न र प्रशिक्षण दिन सक्छन् । खेलाडी र मुख्य प्रशिक्षकलाई प्रयाप्त तलव सुबिधा पनि हुन्छ जसले गर्दा उनीहरुलाई रोजी रोटीको समस्या हुदैन ।

सरकारी पदाधिकारीहरुवाट खेलकुदको विकास गर्नेतर्फ सक्दो ध्यान गएको हुन्छ । उनीहरुले खेलाडी र मुख्य प्रशिक्षकहरुलाई कुनै राजनीतिक दवाव नदिने भएकोले खेलाडी र मुख्य प्रशिक्षकहरु निर्धक्क भएर आफ्नो प्रदर्शन गर्न सक्छन् । विदेशी मुख्य प्रशिक्षकहरुले नेपालमा हुने गरेको सरकारी पदाधिकारीहरुको अनावश्यक राजनीतिक दवाव रुचाउदैनन् ।

साँच्चिकै भन्ने भन्ने हो भने अहिले नेपाली फुटबल र क्रिकेटलाई माथि लैजाने मुख्य प्रशिक्षकको खाँचो छ । तर नेपाली खेलकुदको क्षेत्रमा केही गर्न खोज्ने मुख्य प्रशिक्षकलाई काम गर्न मुश्किल बनाउने वा राजीनामा नै दिन बाध्य बनाउने प्रयास कहि-कतैबाट हुनु नेपाली खेलकुदको क्षेत्रका खेलाडी र लाखौँ खेलकुदको प्रेमीहरुमाथि सरासर अन्याय भएकोले नेपाल खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले अविलम्ब सही कदम उठाओस् ।

आखिर किन फुटबल र क्रिकेट टिमका विदेशी मुख्य प्रशिक्षकहरु धेरै टिक्दैनन् ? आखिर फुटबल र क्रिकेट टिमका विदेशी मुख्य प्रशिक्षकहरु किन राजीनामा दिन बाध्य हुन्छन् ? यी दुवै प्रश्नको उत्तर सवै नेपाली खेलकुद क्षेत्रका खेलाडी, दर्शकहरु, खेलकुद पत्रकारहरु, नेपाल खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयले खोज्न जरुरी छ । साथै खेलकुदसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरु नेपाल खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको यस विषयको ध्यानाकर्षण हुने जरुरी छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

अब्दुल्ला अल्मुताइरीद्वारा फुटबल टिम प्रशिक्षकवाट बाहिरिने संकेत

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !