११ बैशाख २०८१, मंगलबार

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा


काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गर्नुभयो । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ हुनुभयो । उहाँले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नुसक्नुभएन । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसक्नुभएको छ । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !