८ बैशाख २०८१, शनिबार

त्रिकोणात्मक सिरिज : नेपालले नेदरल्यान्ड्सलाई दियो २०७ रनको बिशाल लक्ष्य


टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

काठमाडौं । काठमाडौंको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्डलाई २०७ रनको बिशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो ।

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । उनले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

नेपाललाई दोस्रो ठुलो स्कोर खडा गर्ने क्रममा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गर्ने क्रममा आज ६२ रन बनाए । ४६ बल सामना गरेका उनले ८ चौका र एक छक्का प्रहार गरे ।

यस्तै ऐरीले विस्फोटक ब्याटिङ गर्दै ३० बलमै ६० रन जोडे । उनले तीन चौका र पाँच छक्का प्रहार गरे । यस्तै, सोमपाल कामीले र कुशल मल्लले १८ रन बनाए । नेदरल्याण्डले नेपाललाई अतिरिक्तका रुपमा १६ रन उपहार दिएको थियो ।

नेदरल्याण्डका लागि भिभियन किङ्ग्मा र पिटर सिलरले दुई÷दुई विकेट लिए भने बास डे लिडे र आर्यन दत्तले एक÷एक विकेट हात पारे । नेपालले मंगलबार टी–२० अन्तर्राष्ट्रिय म्याचमा दोस्रो उच्च स्कोर खडा गरेको हो । यसअघि सन् २०१९ मा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो । यो स्कोर नेपालले कुनै पनि अन्तर्राष्ट्रिय टी–२० मा बनाएको उच्च योगफल हो ।

पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको नेपाल यो खेलमा जित हासिल गर्दै फाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस्

कुशलको विश्व कीर्तिमान : लगातार तीन खेलमा अर्धशतक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !