८ बैशाख २०८१, शनिबार

विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन


टेनिस

काठमाडौँ । आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किट अन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बनेका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष एकलतर्फको फाइनल खेलमा भारतीय खेलाडी दहियाले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ अङ्कले पराजित गरे ।

महिला एकलतर्फ भने बेल्जियमकी लाम्ब्रेचले आफनै देशकी रोमाने लोङग्युभिल्लेलाई ६–० र ६–३ अङ्कले हराउनुभयो । नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एकल तथा डबल्सतर्फ प्रतिस्पर्धा भएको थियो । महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभा विजेता भनेका छन् ।

पुरुष डबल्सतर्फ भारतका आर्यन लक्ष्मनन् र आर्यन शाह च्याम्पियन भएका छन् । उक्त स्पर्धामा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामै सिमित रहयो । विजेता खेलाडीलाई आयोजक नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मल्ल लगायतले पुरस्कृत गरे ।

प्रतयोगिता छ दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनीका गरी ६४ खेलाडीले प्रतिस्पर्धा गरेका प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए । आइटीएफ विश्व टेनिस टुर–जे ५ अन्तर्गत सर्किट दुईका खेल सोमबारदेखि सञ्चालन हुने आयोजक सङ्घले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !