७ बैशाख २०८१, शुक्रबार

पुराना टेबल टेनिस खेलाडी शाक्यको निधन


मृत्यु प्रतीकात्मक तस्वीर

बागलुङ । धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिनुभयो । बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित हुनुहुन्थ्यो । टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाउनुभएको थियो । सुख आफू खेलाडी छँदा तत्कालीन धवलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुभएको थियो ।

टेबल टेनिस खेलेर पहिलोपटक धवलागिरिमा सुखले पदक भित्र्याएको सदस्यसचिव शाक्यले बताउनुभयो । “धेरै राम्रो खेलाडी हुनुहुन्थ्यो, पछि उहाँको प्रशिक्षणबाट उत्पादन भएका खेलाडी पनि राष्ट्रियस्तरमा चिनिए”, शाक्यले भन्नुभयो । उहाँले सुखलाई अनुशासित र मिलनसार व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो ।

खेल प्रशिक्षणका सिलसिलामा सुख केही वर्ष कैलालीमा समेत बस्नुभएको थियो । उहाँले जिल्ला खेलकूद विकास समितिमा लामो समय सेवा गर्नुभयो । सुखको निधनले जिल्लाको खेलजगत् स्तब्ध बनेको खेलाडी तथा प्रशिक्षक सङ्घ बागलुङका अध्यक्ष राजनकुमार पाइजाले बताउनुभयो । सुखका एक छोरा र एक छोरी हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !