७ बैशाख २०८१, शुक्रबार

बागलुङमा भलिबल प्रशिक्षण केन्द्र


महिला भलिबल

बागलुङ, १७ असोज । व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु. दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उहाँले भन्नुभयो ।

भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनुहुनेछ । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताउनुभयो । मासिक रु. पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ । खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनुछ”, अध्यक्ष श्रीसले भन्नुभयो ।

गलकोटको भू–बनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवद्र्धन गर्न कठिनाइ छ । भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ । सानो मैदान, सीमित खर्चमा खेल्न सकिने भलिबलले बच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई लोभ्याउँछ । मेला, महोत्सव र पर्वको अवसरमा वर्षेनि दर्जनौँ ठूला÷साना प्रतियोगिता गलकोटमा आयोजना गरिन्छ । विद्यालय उमेरदेखि नै भलिबलमा पोख्त र कुशल खेलाडी तयार गर्न प्रशिक्षण केन्द्रले सघाउने विश्वास लिइएको छ । अहिले प्रशिक्षण लिइरहेका युवक÷युवती पनि कम उमेरका छन् ।

गलकोटले भलिबलमा राम्रा प्रतिभालाई जन्म दिएको छ । गत १३ औँ दक्षिण एसियाली खेलकुदमा गलकोट नगरपालिका–१० पाण्डवखानीकी सोफिया पुनले भलिबलतर्फ काँस्य पदक हासिल गर्नुभएको थियो । यस्तै बिच भलिबलमा गलकोटकै राजु विकले नेपाली राष्ट्रिय टिमका तर्फबाट खेल्नुभएको थियो । गम्भीर भण्डारी, योगेश भण्डारीलगायतका पुराना खेलाडीले राष्ट्रिय÷अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । जिल्ला भलिबल सङ्घका अध्यक्षसमेत रहनुभएका श्रीसले भलिबल खेलको विकासमा सबै खेलप्रेमी र सरोकार भएका पक्षको हातेमालो चाहिने बताउनुभयो । यसअघि बिहीबार प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको उत्थानमा नगरपालिका सँधै सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !