६ बैशाख २०८१, बिहिबार

सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो


सन्दीप लामिछाने

काठमाडौँ, २४ भदौ । अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो । उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो ।

टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो । जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो । जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गर्नुभयो । जमैकाले दुई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराउनुभयो । जमैकाको विकेट पतनको क्रम यतिमै रोकिएन । टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो । मुजिबउर रहमान रन नै नबनाई पवेलियन फर्किनुभयो । उहाँलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराउनुभयो । जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो । नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई चार रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराउनुभयो ।

जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गर्नुभयो । उहाँले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिनुभयो । जमैकाको स्कोर ६३ रन छँदा उहाँ आउट हुनुभयो । लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किनुभयो । उहाँले पाँच बल खेल्दै मात्र दुई रन बनाउनुभयो । रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराउनुभयो । त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाल्नुभयो । उहाँले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाउनुभयो । उहाँलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काउनुभयो । जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिनुभयो ।

एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेल्नुभयो । जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित हुनुभयो । सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिनुभयो उहाँले सुनिल नराइनेको विकेट लिनुभएको हो । योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बन्नुभएको छ ।

सन्दीप विकेटविहीन
प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आउनुभएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुक्नुभयो । उहाँले चार ओभर बलिङ गर्दै २९ रन खर्चिनुभयो । तीन वाइड बल फाल्नुभएका उहाँको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हान्नुभयो । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उहाँ पाँचौँ स्थानमा रहनुभयो । नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा हुनुहुन्थ्यो ।

यसअघि सन्दीपले समूह चरणका १०) खेलमा १२ विकेट लिनुभएको थियो । उहाँ सीपीएलकै सबैभन्दा किफायती बलर हुनुभएको छ । सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिनुभएको थियो । उहाँलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएलपछि अब उहाँको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल)तर्फ मोडिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !