८ बैशाख २०८१, शनिबार

मंसिरको पहिलो साता पोखरामा ‘मिडियाकप फुटसल प्रतियोगिता’ हुने


कार्तिक १४, कास्की , पोखरा | पोखरामा मंसिरको पहिलो साता ‘मिडियाकप फुटसल–२०७४’ प्रतियोगिता हुने भएको छ । बैदाम केवल नेटवर्क प्रालिद्वारा सञ्चालित पोखरा टेलिभिजनको आयोजनामा ‘प्रथम मिडिया कप फुटसल प्रतियोगिता’ हुने भएको हो । मंसिर ६ र ७ गते पोखराको रानीपौवास्थित रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगितामा २० टिमको सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

‘पोखराबाट प्रकाशित दैनिक पत्रिकाबाट ४ टिम, एफएम रेडियोबाट ९ टिम, स्थानीय टेलिभिजनबाट ३ टिम, अनलाईन मिडियाबाट २ र राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकबाट २ टिमलाई समावेश गराईने छ ।’ सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सहसंयोजक विनोद लामिछानेले भने–‘पत्रिकाहरुको भने टिम मर्ज भएर सहभागिता जनाउन सक्ने छन् ।’ सञ्चारकर्मीको स्वास्थ्य, पुर्नताजगी र मनोरन्जनको लागि पोखरा टेलिभिजनले फुटसल प्रतियोगिता गर्ने उद्देश्य राखेको हो । पोखरामा एफएम रेडियो २४ वटा सञ्चालनमा छन् । पोखराबाट प्रकाशित दैनिक पत्रिका १०, स्थानीय टेलिभिजन ३ वटा, एक दर्जनभन्दा बढी अनलाईन पोखरामा सञ्चालित छन् ।

प्रतियोगिताको विजेतालाई १५ हजार र खसी, उपविजेतालाई नगद १० हजार र सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई पुरस्कार प्रदान गरिने छ । टिममा ८ जना खेलाडी, एक प्रशिक्षक र एक टिम म्यानेजर रहने छन् । दुई दिने प्रतियोगिताको लागि १ लाख ५० हजार रुपैयाँ आम्दानीको अनुमान गरिएको छ । १ लाख खर्च र ५० हजार बचत गर्ने लक्ष्य टेलिभिजनले लिएको छ । पत्रकार सम्मेलनमा पोखरा टेलिभिजनका संचालक दिपकबहादुर गोदारले पत्रकारले लेखनमा मात्रै नभई खेलकुद प्रतियोगितामा पनि आफुलाई उभ्याउनेमा विश्वास व्यक्त गरे । पोखरा टेलिभिजनका अध्यक्ष हिमाल खड्का, टेलिभिजनका कार्यक्रम संयोजक सुरज श्रेष्ठ लगायतले पत्रकारितासँगै भाईचारा अभिबृद्धिको लागि पनि खेलकुद गतिविधि गर्नुपर्ने खाँचो औंल्याए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !