८ बैशाख २०८१, शनिबार

सबैले सबैका साँस्कृतिक मुल्य, मान्यता, प्रचलन तथा चाड पर्वहरुको सम्मान र संरक्षण गरौ : अध्यक्ष तिमिल्सिना


गणेश प्रसाद तिमिल्सिना

काठमाडौँ, कार्तिक १० । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले हिन्दुहरुको महान पर्व विजयादशमी, २०७७ को शुभ अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

सर्वप्रथम कोरोना संक्रमणबाट निधन हुनुभएका सम्पूर्ण नेपाली तथा विश्वभरका नागरिकहरुप्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै संक्रमित सबैमा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।

हाम्रो मुलुक बहुँसास्कृति तथा विविधताले भरिपूर्ण छ । सामाजिक तथा साँस्कृतिक रुपमा नेपालीहरुले मनाउने चाडपर्वमा समेत विविधता छ । साँस्कृतिक मूल्य, मान्यता तथा प्रचलनहरु मानव जीवनको अभिन्न अंगको रुपमा रहेका हुन्छन् । यस्ता खालका साँस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने मुलुकको राष्ट्रिय एकता मजबुत भई सामाजिक तथा साँस्कृतिक सुरक्षाको अनुभुति आम नागरिकमा हुन सक्छ । तसर्थ सबैले सबैका साँस्कृतिक मुल्य, मान्यता, प्रचलन तथा चाड पर्वहरुको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ ।

हामी नेपालीहरुको घर-आगन विजया दशमीले छाइसकेको छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन टीका-प्रसाद ग्रहण गरी पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरूको महान चाड विजयादशमीलाई पारिवारिक जमघटको अपूर्व अवसरको रुपमा लिइने गरिन्छ । यस पर्वमा देश-विदेशबाट गाँउ फर्कनेहरुको संख्या उल्लेख्य रहने गर्दछ।

तर यस वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत फैलिरहेको र सङ्क्रमणको जोखिम बढिरहेकोले अघिल्ला वर्षहरुमा जस्तै बाक्लो उपस्थिति सहित हर्षउल्लासपूर्वक मनाउने अवस्था छैन । यस अवस्थामा सरकारले जारी गरेको निर्देशन, आचारसंहिता र सावधानीका उपायहरुलाई पालना गरी विजयादशमी मनाउनुहुन हार्दिक अनुरोध गर्नुभएको छ ।

अन्त्यमा, विजयादशमी २०७७ ले हामी सबैमा कोरोनाको महामारीलाई पराजय गर्दै नया जोश, जाँगर र उत्साहा सहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा हातेमालो गर्न उर्जा मिल्नेछ र प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास राख्दै पूनः हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !