७ बैशाख २०८१, शुक्रबार

भारतबाट नेपाली महिलाको उद्दार


बलात्कृत

परासी, १८ भदौ । एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ ।

नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो ।
उद्दार गरिएकामध्ये चितवनका चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन् । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिनुभयो ।

जागिर र बिवाहको प्रलोभनमा परेर उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महीनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचविखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्दार गरिएका महिलाले बताएका छन् । उनीहरु दश महीनाअघि त्यहाँ पुगेका थिए ।

उद्दार गरिएकामध्ये २२ वर्षीय महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । उनकी बहिनी अहिले बेपत्ता छन् । १७ वर्षीय युवतीलाई पनि अर्को एक व्यक्तिले जागिर लगाइदिने प्रलोभन देखाएर बोलाएको तर एक महीनापछि भारतको बिहारका तीन जनालाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी उनीहरुले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताउनुभयो । चार वर्षीया बालिका भने २२ वर्षीया ती महिलाकी छोरी हुन् ।

विदेशमा रहेका आफ्ना दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएका थिए । त्यसपछि खोजी कार्य शुरु भएको थियो । आफन्त नेपाल महेशपुरले जिल्ला प्रहरी कार्यालय परासी, सीमा प्रहरी चौकी महेशपुर, पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, भारतीय प्रहरी र भारतकै सोही क्षेत्रमा सक्रिय संस्थाहरुको सहयोगमा उनीहरुलाई उद्दार गर्न सफल भएको हो ।

उनीहरुलाई बेचविखन गर्न खोज्ने तीन जना भारतीयलाई भारतमै मानव बेचविखनविरुद्ध मुद्दा चलाइएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !