७ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङका आगलागी पीडितलाई राहत प्रदान


ताप्लेजुङ आगलागी

ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभान लगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो ।

प्रतिपरिवार रु नौ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो । कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो ।

यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित रु ६० हजारसमेत सोही कार्यक्रमका बीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !