७ बैशाख २०८१, शुक्रबार

आवासविहीन विपन्नका लागि नमूना बस्ती


कञ्चनपुर, २९ जेठ । कञ्चनपुरका तीन स्थानीय तहले आवासविहीन विपन्न परिवारका लागि नमूना एकीकृत बस्ती निर्माण गर्ने भएको छ ।

जिल्लाको बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका आवासविहीन विपन्न परिवारको आवासका लागि नमूना बस्ती निर्माण गर्न लागेको हो ।

विपन्न, भूमिहीन र दलित समुदायलाई लक्षित गरी स्थानीय तहले राष्ट्रिय मुक्त हलिया समाज र हेविटाट नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा आवास निर्माण गर्न लागेका हुन् । प्राविधिक सहयोगसहित संस्थाले प्रतिघर निर्माणका लागि रु एक लाख सहयोग गरेको छ ।

बेदकोट नगरपालिकामा विपन्न परिवारका लागि आठवटा आवास निर्माणको कार्य भइरहेको छ । यसका लागि विस्तृत लागत अनुमान (डिपिआर) निर्माणको कार्य पूरा गरी आवास निर्माणको कार्य भइरहेको छ । आवास निर्माणका लागि सांसद नरबहादुर धामीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु ४२ लाख रकम खर्च गरी आवास निर्माणको कार्य अगाडि बढाइएको बेदकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष गणेश विकले बताउनुभयो ।

“असार मसान्तभित्रै घर निर्माणको कार्य पूरा गर्ने गरी कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “एक घर निर्माणमा रु सात लाख बढी रकम खर्च गरिएको छ ।” पहिलो चरणमा विपन्न परिवारका लागि आठवटा मात्रै घर निर्माण गरिए पनि नगरपालिकाले नगर क्षेत्रमा रहेका भूमिहीन र विपन्न परिवारका लागि ४५ वटा घर निर्माण गर्ने लक्ष्य लिएको छ ।

यसैगरी, भीमदत्त नगरपालिकाका विपन्न र भूमिहीन परिवारका लागि कार्यक्रमअन्तर्गत २० परिवारका घर निर्माणको कार्य अगाडि बढाइएको छ ।

कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपकप्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, भीमदत्त नगरपालिका र हेभिवेट इन्टरनेशनलको साझेदारीमा घर निर्माण हुन लागेका हुन् । वडा नं ९ र १० मा १०÷१० घर निर्माण हुन लागेको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

वडा नं ९ को जमुनाभाडीको वादी समुदायको बस्तीमा घर बनाउन थालिएको छ । वादी समुदाय पुस्तौँदेखि भूमिविहीन छ । निर्माण भइरहेका सबै घर शौचालयसहित दुई कोठाका रहेका छन् । घर निर्माण शुरु गरिएपछि भूमिहीन विपन्न परिवार खुुशी भएका छन् । गत वर्ष भीमदत्त नगरपालिकामा जनता आवास कार्यक्रमअन्तर्गत १५ परिवारका घर निर्माण गरिएका थिए ।

घर निर्माणमा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट रु ५० लाख, भीमदत्त नगरपालिकाको रु १० लाख र हेभिवेटको रु २० लाख खर्च साझेदारी गरिएको छ । महाकाली नगरपालिमामा भूमिहीन र विपन्न परिवारका लागि १४ वटा घर निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिका र सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट रु ५० लाख रकम घर निर्माणका लागि परिचालन गरिएको छ ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारका अनुसार निर्माण हुने घर आधुनिक शैलीका हुनेछन् । घर भूकम्प प्रतिरोधी हुनाका साथै प्रत्येक घरमा शौचालयसमेत निर्माण गरिनेछ । आवास निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । प्रत्येक घरसम्म पुग्ने सडक र आवास रहेको जग्गामा फूलबारी करेसाबारीलगायतको समेत व्यवस्था गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !