१२ बैशाख २०८१, बुधबार

लुभूमा आलोपालो पानी वितरण


water

ललितपुर, १२ जेठ । महालक्ष्मी नगरपालिका–८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ ।

लुभू खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । लुभूका एक हजार ३०० घरपरिवारले तल्लो दोभान खानेपानी आयोजनाको पानी प्रयोग गर्ने गरेको लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आयोजनाभित्र रहेका यी सदस्यलाई दैनिक छ लाख लिटर खानेपानी वितरण गर्न आवश्यक पर्दछ । जेठ महिनाको गर्मी बढेसँगै दैनिक यतिमात्राको पानी सङ्कलन गरी वितरण गर्न नसक्ने भएपछि आलोपालो वितरण गर्न लागेका हाँै ।”

आजदेखि लुभू मूलबाटोको उतरतर्फ बिहान र मूलबाटोको दक्षिणतर्फ भोलि बिहान तथा बिहान नआएकोे क्षेत्रमा केही समय बेलुका पानी वितरण गरिने श्रेष्ठले जानकारी दिनुभयो । उक्त खोलाको पानी पाइपबाट दुई किलोमिटर तल झारिएको छ । सो पानी शुद्धीकरण गर्ने विभिन्न चरण पार गरी व्यवस्थितरुपमा वितरण गरिएको छ ।

आफूहरुसँग डेढलाख लिटरको एक, दुई÷दुई लाख लिटरको दुई र अन्य थप गरी कूल आठ लाख लिटर पानी झण्डारण गर्ने क्षमता रहेको श्रेष्ठको भनाइ छ । “मिटरमार्फत एक हजार लिटर खानेपानी रु २० मा हरेक उपभोक्ता सदस्य परिवारलाई वितरण गरिरहेका छाँै”, उहाँले भन्नुभयो, “हामीले पानीको बहाब हेरेर दैनिक बिहान तीनदेखि चार घण्टा र आलोपालोअनुसार पानी नपाएका घरमा बेलुका एकदेखि डेढ घण्टा दिने गरेका छौँँ ।”

हाल लुभूका एउटा घरलाई दैनिक ५०० लिटर पानी दिन थालेको आयोजनाका सचिव महेन्द्रदेव सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वडामा लुभू, चसिडोल, विसनडोल र शङ्खादेवी नामक चार वटा खानेपानी आयोजना छन् ।” लुभूको बजार क्षेत्र र पुराना बस्ती रहेको ठाउँका मानिसले मात्र यस आयोजनाको खानेपानी प्रयोग गर्ने गरेका सिंहले जानकारी दिनुभयो ।

गत वर्ष मङ्सिर–पुसबाटै खानेपानीको धेरै समस्या भएकोे तर यस वर्ष आकाशबाट पानी परिरहेकाले खासै समस्या नभएको स्थानीयवासी देवी श्रेष्ठले बताउनुभयो ।

महालक्ष्मीमा धमाधम श्रम बैंक नामक काम जारी
महालक्ष्मीले बन्दाबन्दीका कारण मर्कामा परेका श्रमिक तथा मजदुरलाई लुभू डाँडाथोक बाटोको स्तरोउन्नति, केहीलाई खेती किसानी त केहीलाई छयोमरुढ कुलो सरसफाइ कार्यमा परिचालन गरिरहेको वडा नं. ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले बताउनुभयो ।

वडामा रहेका बेरोजगारलाई ढुङ्गिन घिमिरेथोक र घिमिरेथोकबाट देउराली जाने सडकको ड्रेन खोल्ने कार्यमा पनि लगाइरहेको वडा नं ९ का वडाध्यक्ष वासुदेव शर्मा गौतमले जानकारी दिनुभयो ।

महालक्ष्मी गठित ‘हाम्रो युवा समूह’ का युवाले सामाजिक दूरी कायम गर्दै एक हप्तासम्म विष्णुडोल–शङ्खादेवी सडक खण्डको सिँचाइको कुलो सरसफाइ गरेका छन् । महालक्ष्मीको हरेक वडामा एक चरण राहत वितरणको काम सम्पन्न भइसकेको हुँदा अब पुनःदोस्रो पटक राहत वितरण गर्नुभन्दा जनतालाई काममा लगाएर परिश्रमी र मेहनती बनाउनु नगरपालिकाको उद्देश्य रहेको बताइएको छ ।

अपाङ्गता, अशक्त, ज्येष्ठ नागरिक, उमेर ढल्किएका एकल महिला र साहाराविहीन बालबालिकालाई राहत वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । आर्थिक र सामाजिक अवस्था कमजोर भएका जनतालाई दैनिक खर्च व्यवस्थापनमा मर्का नपरोस् भनी हाल धमाधम काममा लगाइरहेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !