११ बैशाख २०८१, मंगलबार

इद उल फित्र आवश्यक सावधानी अपनाएर मनाउन उपराष्ट्रपति पुनको आह्वान


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताउनुभयो ।

उहाँले यस महान् पर्वका अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उहाँहरुका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उपराष्ट्रपति पुनले देशमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र भएकाले एक जुट भएर यसविरुद्ध लड्न र विजय प्राप्त गर्नाको विकल्प नभएको पनि सन्देशमा जनाउनुभएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जान विश्वास व्यक्त गर्दै उहाँले सरकारको प्रयासमा पूर्ण साथ दिन सबैलाई आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !