८ बैशाख २०८१, शनिबार

बन्दाबन्दीले खानेपानी आयोजना ठप्प


खानेपानी

तनहुँ, १० जेठ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यहाँका खानेपानी आयोजना ठप्प हुँदा स्थानीयवासी प्रभावित भएका छन् ।

बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा जिल्लाको दक्षिण भेगमा पर्ने गोठार्दी डुकुडाँडा खानेपानी आयोजना ठप्प भएका छन् । आयोजना ठप्प हुँदा ऋषिङगाउँपालिका–६ करिब एक हजार बासिन्दा प्रभावित बनेका हुन् ।

बन्दाबन्दीले प्राविधिक आउन नसक्दा पाइप विस्तार गरी घर घरमा धारा जडान गर्ने कार्य रोकिएपछि स्थानीयवासी चिन्तित भएको गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । बस्तीदेखि तल रहेको घिरोदी खोल्सीको मुहानको पानी करिब ५०० मिटर उचाइमा लिफ्टिङ गरी रिजर्भ ट्याङ्कीमा पानी जम्मा गर्ने कार्य सम्पन्न गरिएको छ । उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा मुख्य ट्याङ्कीबाट घर घरमा धारा जडान गर्ने कार्य रोकिएपछि स्थानीयवासी ट्याङ्कीको पानी हेरेर बस्न बाध्य छन् ।”

उक्त योजनाबाट त्यस क्षेत्रका १९० घरधुरीका करिब एक हजार बासिन्दा लाभान्वित हुने बताइएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका त्यस क्षेत्रका बासिन्दा जतिसक्दो चाँडो आफ्नो घरमा पानी आएको हेर्ने प्रतीक्षामा छन् । ऋषिङ गाउँपालिका–६ का रामडाँडा, गोठार्दी, जैसीहटिया, डुकुडाँडा र इमिर क्षेत्रका बासिन्दाको घर घरमा खानेपानी पु¥याउने लक्ष्यअनुरुप योजना थालिएको ऋषिङ गाउँपालिका–६ का वडाध्यक्ष भक्तबहादुर आलेले बताउनुभयो । उक्त वडाका करिब ५०÷६० घरमा पानी वितरण गरिसकिएको छ । उहाँले भन्नुभयो, “पानीको मुहानदेखि रिजर्भ ट्याङ्कीसम्म पानी ल्याउन सफल भए पनि ट्याङ्कीबाट घर घरमा धारा जडान गर्ने कार्य रोकिएको छ ।”

सङ्घीय सरकारको रु ३५ लाख, गण्डकी प्रदेश सरकारको रु २५ लाख गरी रु ६० लाख र स्थानीयवासीको ४० प्रतिशत जनसहभागितामा उक्त आयोजना सम्पन्न गर्न लागिएको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । सडकबाट करिब आधा किलोमिटर ओरालो दूरीमा बाटो बालुवा, सिमेन्ट, छडलगायत सम्पूर्ण सामग्री स्थानीयवासीले नै बोकेर लिफ्टिङस्थलमा पु¥याएर श्रमदान गरेका थिए । ऋषिङ गाउँपालिका वडा नं ५ का वडाध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “खानेपानी योजना सम्पन्न गर्न स्थानीयवासीको योगदान सराहनीय छ ।”

लामो दूरीबाट पानी बोक्नुपर्ने समस्याको अन्त्य हुने भएपछि त्यस क्षेत्रका स्थानीयवासी हर्षित बने पनि प्राविधिकको अभावमा काम रोकिँदा उनीहरु चिन्तित भएका छन् । पानी लिफ्टिङ गर्नका लागि १७ वटा सोलार प्यानल जडान गरिएको समितिका सचिव दानबहादुर आलेले बताउनुभयो । त्यसैगरी सोही वडाको ढुङ्गाढेस्थित पहराको पानी लिफ्टिङ कार्यबाट त्यस क्षेत्रका करिब ५० घरधुरी लाभान्वित हुने भएका छन् ।

साविक भिरकोट–१ र कोटदरबार–८ हालको ऋषिङ–६ मा पर्ने रानाभाट बस्तीमा खानेपानी वितरण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको रु आठ लाख र अन्य श्रमदान गरी करिब रु १२ लाखको लागतमा निर्माण कार्य भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !