१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकाका प्रवेशका सबै नाका सिल गर्न गृहको पत्र


गृह मन्त्रालय

काठमाडौं, जेठ ८ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेको हो। यसअघि वैशाख २७ गते उपत्यकाका २ महानगर र १६ नगरपालिकाका मेयर-उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाई गर्न माग गरेको थियो ।

स्थानीय तहको माग अनुसार उपत्यका छिर्ने नाका बन्द गर्ने गरी गृह मन्त्रालयले पत्र सबै स्थानीय तहलाई पठाएको हो । गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ ।

पत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ । त्यस्तो पाइएमा कारवाही समेत गर्ने समेत बताइएको छ । नाका प्रवेशका स्थानीय तह लगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउन र त्यहाँ बस्ने व्यक्ति स्वयमले क्वारेन्टाइन खर्च भुक्तानी गर्ने गरी व्यवस्थपन गर्न समेत पत्रमा उल्लेख गरिएको छ ।

अत्यावश्यक काममा उपत्यका प्रवेश गर्नुपर्ने भएमा उपत्यका प्रवेश पूर्व स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने पत्रमा बताइएको छ ।

 सबै नाका सिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !