१२ बैशाख २०८१, बुधबार

जिल्लाबाहिर अलपत्र परेका नगरबासीलाई उद्घार गरिँदै


घर फर्कदै

मुगु, १० वैशाख । सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा सहज पुर्याउन गरेको लकडाउनका कारण जिल्लाबाहिर अलपत्र परेका आफ्ना नगरबासीलाई यहाँको एक स्थानीय सरकारले उद्घार गर्न थालेको छ ।

मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाले अध्ययन, नोकरी, औषधिउपचार तथा अन्य कामको सिलसिलामा जिल्लाबाहिर रहेका आफ्ना नगरबासी लकडाउनका कारण अलपत्र परेको भन्दै उद्घार गर्न लागेको हो ।

जिल्लाबाहिर सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा अध्ययन, नोकरी, औषधि उपचारलगायत अन्य कामले गएका आफना नागरिक लकडाउनले अलपत्र पर्न गई खानबस्नसमेत समस्या पर्न थालेको खबर पाएपछि सङ्घीय सरकार र प्रदेश सरकारको बाटो पास लिएर आफ्ना नगरबासीलाई गृह जिल्लासम्म बसमा उद्घार गर्न लागेको नगरप्रमुख हरिजङ्ग शाहीले बताउनुभयो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भइसकेकाले सम्भवतः आजसम्म नेपालगञ्ज र सुर्खेतबाट अलपत्र परेका नगरबासीलाई उद्घार गरिसक्ने र काठमाडौँमा बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको लगत, सम्पर्क नम्बर सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यकिन सङ्ख्या आएपछि बसको व्यवस्था गरी उद्घार गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “काठमाडौँदेखि मुगुसम्म बस सञ्चालन अनुमतिका लागि प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयसँग समन्वय भइरहेको छ ।

यसरी उद्घार गरिने नगरबासीलाई कम्तीमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाइन वा आफ्नै होम क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र उद्घार गरिने पनि नगरपालिकाले जनाएको छ । लकडाउन लम्बिएपछि बेखर्ची भएका मुगालीहरु काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट पैदल हिँडेर आएका छन् । उनीहरुको बाटोमा बिजोग भएपछि उद्घारका लागी हिँडेका बसहरुले बाटोमा अलपत्र परेका मुगालीको पनि उद्घार गर्ने छन् । घर पुग्न हिँडेकाहरु छिन्चु, बबई, डुन्गेश्वर, राकम, छेडागाड, नाग्म, मात्म रहेका छन् । उनीहरूलाई बसको साथै बाटोमा खानबस्नको समेत व्यवस्था नगरपालिकाले मिलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !