७ बैशाख २०८१, शुक्रबार

ओखलढुङ्गाका स्थानीय तहले थाले शहरमा अलपत्र परेकालाई गाउँ फर्काउँन


ओखलढुङ्गाका स्थानीय तह

ओखलढुङ्गा, १० वैशाख । ओखलढुङ्गाका स्थानीय तहले काठमाडौँसहित विभिन्न शहरमा अलपत्र परेका नागरिकलाई गाउँ फर्काउने तयारी थालेका छन् । जिल्ला सदरमुकाममा सबै स्थानीय तहका प्रमुखसहित जिल्ला कमाण्ड पोष्टका पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार अलपत्र परेका नागरिकलाई गाउँ फर्काउन पहल गर्ने निर्णय गरेका तयारी थालेका हुन् ।

जिल्लाका सबैजसो स्थानीय तहले सार्वजनिक सूचना जारी गरेर अलपत्र परेकाको विवरण सङ्कलन गरिरहेका छन् । मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकाले आउन चाहने सबै नागरिकलाई गाउँ फर्काउने भन्दै सम्पर्कमा आउन अपिल गरेको छ । “लकडाउनका कारण हाम्रा जनता शहरमा समस्यामा परेकोप्रति ध्यानाकर्षण भएको छ । आउन चाहनेको विवरण सङ्कलन गरेर गाउँसम्म ल्याउने तयारी गरिरहेका छौँ ।” मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राईले भन्नुभयो, “तर गाउँमा आएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।”

मोलुङ गाउँपालिकाले शहरबाट अलपत्र परेकालाई उद्धार गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्ने तयारी गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताउनुभयो । “लकडाउनका कारण सङ्कटमा परेकालाई उद्धार गर्ने र सुरक्षितरुपमा गाउँमा ल्याएर क्वारेन्टाइनमा राख्ने गरी विवरण माग गरिरहेका छौँ”, नेपालले भन्नुभयो ।

सुनकोशी गाउँपालिकाले सङ्कटमा परेका नागरिकलाई सहयोग गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले बीच बाटोमा अलपत्र परेका र खाद्य सङ्कट झेलेका नागरिकलाई सहयोग गरिने जानकारी दिनुभयो । “यही अवस्थामा सबैलाई गाउँ फर्काउन कति सम्भव होला तर सङ्कटमा परेकालाई सहयोग गर्न थालेका छौँ”, अध्यक्ष अधिकारीले रासससँग भन्नुभयो, “बाटोमा अलपत्र परेकालाई ल्याएर सरकारी क्वारेन्टाइनमा राख्ने र सङ्क्रमण नभएको पुष्टिपछि गाउँ फर्काइन्छ । अन्यथा जो जहाँ छन्, त्यही ठाउँमा सहयोग गर्न पनि हाम्रो संयन्त्र पुग्छ ।”

खिजीदेम्बा गाउँपालिकाले पनि समस्यामा परेकालाई सहयोग गरिने भन्दै आफ्नो स्थान र अवस्थाबारे जानकारी गराउन अपिल गरेको छ । “को–कहाँ कुन अवस्थामा छ र कसलाई के समस्या छ भन्नेबारे बुझ्ने काम भइरहेको छ ।” प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले भन्नुभयो, “सबैको अवस्था र आवश्यकता बुझेर त्यहीअनुसार हामी अघि बढ्ने तयारीमा छौँ ।” खिजीदेम्बाले एकै दिन दुईसम्म सार्वजनिक सूचना जारी गरेर तत्काल विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले पनि समस्यामा परेकालाई उद्धार गर्ने तयारी गरेको नगरप्रमुख मोहन श्रेष्ठले बताउनुभयो । नगरपालिकाले घर फर्कन चाहनेलाई विवरण उपलब्ध गराउन अपिल गरेको छ । लिखु, चिशङ्खु र चम्पादेवी गाउँपालिकाले पनि समस्यामा परेकालाई सहयोग र अफ्ठ्यारामा परेकालाई उद्धार गर्ने तयारी गरेका छन् ।

जिल्ला कमाण्ड पोष्टले नवप्रवेशीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । बाहिरबाट आउने नागरिकमा सङ्क्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउन भनिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !